काठमाडौं । नेपालमा थप १ हजार ५३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १० हजार १२३ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ५३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
यस्तै थप ८८५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।
हाल देशभर १९ हजार १९ सक्रिय कोरोना संक्रमित रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
हाल देशभर होम आइसोलेसनमा १० हजार ६९८ जना रहेको उनले जानकारी दिए । अहिले ६ हजार दुई सय ८१ जना क्वारेन्टिनमा बसिरहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले भेन्टिलेटरमा देशभर ३३ जना उपचाररत रहेको उनले बताए ।
आइतबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसमेत गरी देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।












