काठमाडौं । आज (सोमबार) विश्व रेबिज विरुद्धको दिवस : ’रेबिज अन्त्यको लागि सहकार्य र खोप’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।
रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । यसरी ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका रहेका छन् ।
विश्वमा हुने रेबिजको समस्यामध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।












