सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा समुदायस्तरमा सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको छ। युनिसेफको आर्थिक सहयोग र सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा पञ्चपुरीको बाबियाचौरमा आइतबार सामाग्री हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेशमा कोभिड १९ तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत समुदायमा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको सुन्दर नेपाल संस्था सुर्खेतले बताएको छ। संस्थाका अनुसार युनिसेफको आर्थिक सहयोगमा २५ घरधुरीलाई बाल्टिन, डस्टबिन, पानी, स्यानीटाइजर तथा पानी शुद्धिकरण गर्ने सामाग्रीहरू समुदायमा वितरण गरिएको हो ।
कार्यक्रममा सरसफाइ तथा स्वच्छता सामाग्रीको प्रयोग विधि र कोभिड १९ को सम्भावित जोखिमबाट बच्ने उपायबारे समेत स्थानीयलाई जानकारी गराइएको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा चन्द्रप्रसाद तिमिल्सिनाले सहजीकरण र धर्मराज छन्त्यालले सहयोग गर्नुभएको थियो ।
युनिसेफको सहयोग र सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा सञ्चालित “कोभिड–१९ तयारी तथा प्रतिकार्य परियोजना” सुर्खेतको पञ्चपुरी नगरपालिका लगायत कोभिड–१९ प्रभावित ठाउँका क्वारेन्टाइन, आइसोलेसन र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा कोरोना रोगको संक्रमण रोक्न र बच्नको लागि संक्रमणरहित हात धुने स्थल, अन्य सामग्रीहरू वितरण तथा समुदाय स्तरमा स्वच्छता प्रबर्द्धन कार्यक्रम कर्णाली प्रदेशका तिन जिल्ला सुर्खेत, दैलेख र सल्यानका छ ओटा स्थानीय तहहरूमा भइरहेको छ ।
२०५३ सालमा सुर्खेतमा स्थापना भएको सुन्दर नेपाल संस्था विशेष गरी कर्णाली प्रदेशमा सामुदायिक विकासका क्षेत्रमा क्रियाशील छ। नेपालमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ र अन्य विपद व्यवस्थापनका क्षेत्रमा पनि सुन्दर नेपालले कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।












