काठमाडौं । आज विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा आज विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमान छ । प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या रहेको छ ।
वर्षेनी एक हजार बालबालिका बाथ मुटु रोगका कारण हार्ट फेल भएर मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्ने कारण नेपालमा मुटु रोगीको संख्या वर्षेनी थपिदै गएको छ । मुटु रोगका कारण विश्वमा वर्षेनी १ करोड ८० लाख मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लु एचओको भनाई छ ।
जसमध्ये विकासोन्मुख देशहरुमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशत भन्दा बढी छन् । सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने डब्लुएचओको अनुमान छ । विकोसोन्मुख देशहरुमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशतबाट ३५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।











