काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकोमा नेपाल चिकित्सक संघल आपत्ति जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले डा. केसीसँग सार्थक वार्ता गरी समस्याको यथाशीघ्र समाधान निकाल्न प्रेस विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार डा. केसीको मुटुको चालमा तीव्रता आएको छ। रिँगटा लाग्ने गरेको, थकान महसुस भइरहेको, ब्लड सुगर न्यून रहेको उपचार टिमका संयोजक डा. आचार्यद्वारा जारी मेडिकल बुलेटिनमा उल्लेख छ। उनको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम, फस्फोरसको मात्रा न्यून छ। रगतमा सेता रक्तकोषको मात्रामा कमी आइरहेको छ। शरीरमा इलेक्ट्रोलाइटको कमी आएको छ।
१७ दिनदेखि अनशनरत डा. केसीलाई जुनसुकै बेला सघन उपचार कक्ष (आईसीयू)मा लैजानुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।











