बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका हुन् ।
ढुंगा प्रहार भएपछि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।











