२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा छात्राहरुको शैक्षिक निरन्तरताका लागि साइकल वितरण




चितवन । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ । जोखिममा परेका लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल वितरण गरेकोे हो ।
भरतपुर २२ को पटिहानीमा रहेको आधारभुत विद्यालयमा एक कार्यक्रम गरी महानगर प्रमुख रेनु दाहालले ५ वटा वडाका १७ वटा विद्यालयका १३५ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरिन् । प्रतिवडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।
कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख दाहालले बताइन् ।
अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको छ।
कार्यक्रममा बोल्दै उनले महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको तथा १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेकोे बताइन् ।
कार्यक्रममा बोल्दै महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएको र त्यसैका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार ००:००  ११ : १७ बजे