ओखलढुंगाका गाउँहरुमा बजार अनुगमन हुन थालेको छ । विगतमा चाडपर्वका बेला सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै हुने बजार अनुगमन अहिले जिल्लाका विकट क्षेत्रमा पनि हुन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय मातहत रहेको बजार अनुगमन समितिले गर्दै आएको उपभोक्ता हक संरक्षणको जिम्मेवारी स्थानीय तहमा सरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार उक्त जिम्मेवारी स्थानीय तहकै भएपनि जिल्लामा त्यसको अभ्यास भएको थिएन ।
केही दिन अघि प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बजार अनुगमनको काम गर्न सबै स्थानीय तहलाई पत्राचार गरेपछि अहिले स्थानीय तहका अनुगमन समिति सकृय हुन थालेका हुन् ।
खिजीदेम्बा गाउँपालिकाको केन्द्रका ४० वटा पसलमा गाउँपालिकाको बजार अनुगमन समितिले छापा मारेको छ । खिजीफलाटे बजारमा साप्ताहिक रुपमा लाग्ने बुधबारे हटियालाई लक्षित गरेर बजार अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । प्रमुख जिल्ला अधिकारीको परिपत्र अनुसार गाउँपालिकाकोे उपभोक्ता हित संरक्षण अन्तरगतको बजार अनुगमन समितिलाई सकृय बनाएर अनुगमनको काम थालिएको र यसलाई निरन्तरता दिईने उनको भनाई छ । ‘हाम्रो आन्तरिक तयारी पनि थियो । सिडियो कार्यालयबाट परिपत्र पनि आएपछि अनुगमनमा झन सजिलो भयो ।’ पौडेलले भने, ‘चाडपर्वका बेलामा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्रिवितरण रोक्न हामी पालिका भित्रका सबैजसो मुख्या तथा सहायक ब्यापारीक केन्द्र र पसलहरुमा अनुगमन गछौं । अनुगमनलाई निरन्तरता दिन कार्यसूचि नै बनाएका छौं ।’ स्थानीय तहका समितिलाई चलायमान बनाउन आफुले पहल गरिरहेको उनले बताए ।

बजार अनुगमनका क्रममा खिजीफलाटेका अधिकांश पसलमा मुल्यसूचि नराखेको, उपभोग्य मिति सकिएका अखाद्य वस्तु बेच्ने गरेको, व्यवसाय दर्ता नगरेको जस्ता समस्याहरु देखिएका थिए । अखाद्यवस्तु बरामद गरेर नष्ट गरिएको छ । व्यवसाय दर्ता तथा नविकरण नगरेका व्यवसायीलाई कानुनी मापदण्ड अनुसार दर्ता तथा नविकरण गर्न र ग्राहकले देखिने ठाउँमा मूल्यसूचि राख्न ७ दिनको समय दिईएको खिजीदेम्बाका अधिकृत छैटौं नारायण पुरीले जानकारी दिए । दिइएको समयभित्र कानुनी मापदण्ड नअपनाउने र कालो बजारी गर्ने व्यवसायीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने योजना रहेको पुरीले बताए ।
जिल्लाका अन्य स्थानीय तहले भने आफैंले बजार अनुगमन गर्न थालिसकेका छैनन् ।
उपभोक्ता हित संरक्षणमा खिजीदेम्बाले राम्रो सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । आफ्नो क्षेत्रभित्रका बजारको अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहकै भएकाले स्थानीय अनुगमन समितिलाई सकृय बनाउन पत्राचार गरिएको पौडेलको भनाई छ । ‘जिल्लाभर बजार अनुगमन गर्नुस् भनेर स्थानीय तहमा ध्यानाकर्षण सहित पत्राचार गरिएको थियो । खिजीमा सुरुवात भएछ । त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको एक्सनले शुभ संकेत गरेको छ । अन्य ठाउँमा पनि कडाईका साथ अनुगमन हुनेछ ।’ प्रजिअ पौडेलले भने, ‘आफ्नो अधिकार उपयोग गरेर स्थानीय तहले अनुगमनको नेतृत्व गर्छ । सुरक्षा सहितका सहयोग हामी उपलब्ध गराउँछौं ।’ दशैं दिपावली जस्ता चाडपर्वका समयमा कालोबजारी गर्ने र अखाद्य वस्तुको विक्रिवितरण बढ्ने गरेको गुनासो आएकाले अनुगमनलाई कडाई गरिएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयमा जनताका गुनासो सुन्नका लागि २४ सै घण्टा सञ्चालनमा रहने हटलाईन मार्फत जिल्लाका नागरिकहरुले बजारमा अखाद्य वस्तु र म्याद नाघेका सामानहरु विक्रि भइरहेको भन्नेबारे गुनासो बढी आएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।












