२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ठेक्काको काम अलपत्र !ठेकेदारलाई काम सक्न अन्तिम मौका



ओखलढुंगा । ओखलढुंगामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र छाड्ने ठेकेदारलाई काम सक्न अन्तिम पटक मौका दिईएको छ । शनिवार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको विकासका बाधा फुकाउन सरोकारवालाको सम्मेलनका क्रममा ठेकेदारलाई आफुले जिम्मा लिएको काम सक्न अन्तिम पटक मौका दिईएको हो ।

जिल्लामा वषौं अघि ठेक्का लागेर अलपत्र परेका भवन, सडक सहितका पूर्वाधार विकासका काम तत्काल सम्पन्न गर्ने त्यसका लागि निर्माण व्यवसायीलाई अन्य सरोवारवालाले आवश्यक सहयोग गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरिएको छ ।

ओखलढुंगामा शनिवार भएको कार्यक्रम निकै भिन्न थियो । मन्त्री, सांसद र सिडियोले काम नगर्ने ठेकेदार सम्बन्धीत आयोजना हेर्ने कार्यालयका प्रमुखलाई उभ्याएर खेरेका थिए । सिधा सिधा प्रश्न गर्दै सिधा उत्तर मागेका थिए ।

ठेकेदारलाइ खेर्दै सांसद र मन्त्री
तत्काल काम अघि बढाउन अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिईएको छ ।
कार्यक्रमममा अलपत्र १८ वटा भन्दा बढी योजनाका ठेकेदारलाई ठेक्का अलपत्र हुनुको कारण सोधिएको थियो । धेरैजसो ठेकेदारले आ–आफ्नै बहाना सुनाएका थिए । मुख्य ठेकेदार नभएर धेरैजसो पेटी ठेकेदार र प्रतिनिधिहरु उपस्थित थिए । निर्माण कम्पनीका मुख्य व्यक्ति उपस्थित नहुँदा धेरैजसो प्रतिनिधि नै आफुले जिम्मा लिएका कामबारे अनविज्ञ थिए ।

बजेट अभाव हुन्न, अर्को मौका दिइन्न

प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले कोरोेना भाइरस काम नगर्ने ठेकेदार र अल्छे कर्मचारीलाई बहाना भएको बताए । विगत देखिनै अनेक बहानामा काम नगर्नेहरुलाई कोरोना, लकडाउन र निषेद्याज्ञा बहाना मात्रै भएको सांसद सुनुवारको भनाई थियो । कोरोनाको बहाना गरेर विकास प्रभावित नबनाउन सांसद सुनुवारले आग्रह गरेका छन् ।

प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विकासका लागि बजेट अभाव हुन नदिने बताए । जिल्लाबाट माग भएभन्दा बढी राष्ट्रिय महत्वका योजना समेत पारिएको भएपनि प्रकृया मिलाएर जिल्लामा काम नहुँदा बजेट फ्रिज हुने गरेको उनको भनाई थियो । गतवर्ष जिल्लाको विकासका लागि आफुुले ल्याएको करोडौं बजेट फ्रिज भएको सुनाउँदै राज्यमन्त्री गुरुङले बजेटको चिन्ता नगर्न तर समयमै निर्माणका काम सक्न आग्रह गरेका छन् ।

भ्रष्ट्रचार र अनियमितता भए तत्काल कारबाही गर्ने चेतावनी दिँदै राज्यमन्त्री गुरुङले संघ प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र सबै जिम्मेवार व्यक्तिबिच समन्वयको खाँचो रहेको बताए । १ नम्बर प्रदेशका १४ वटै जिल्लामा समानुपातिक हिसाबले विकास बजेट पठाएर समृद्ध प्रदेश निर्माणमा सरकार जुटेको उनको भनाई थियोे ।

प्रदेश १ का अर्थ समिति सभापति मोहन खड्काले अधुरा आयोजनाका कारण जिल्लाको समृद्धि पछि परेकाले तत्काल जिम्मा लिएको काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जिल्लाका रुग्ण योजनाको काम सक्न ठेकेदारलाई यो नै अन्तिम मौका हुने बताए । अब तत्काल काम सम्पन्न नगरे कानुनी कारबाहीको प्रकृया अघि बढाईने प्रजिअ पौडेलको भनाई थियो । बहानाबाजी गरेर राज्यलाई ठग्ने ठेकेदारलाई राज्यले नछाड्ने उनको चेतावनी थियो ।

ठेक्काका कामबारे स्थानीय तहलाई जानकारी नै छैन

स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र संघ सरकार मातहतका योजनामा आफुहरुलाई जानकारी नहुने गरेको सुनाए । आफ्नो क्षेत्रमा हुने विकास र आएको बजेटका बारेमा जानकारी नपाउँदा जनताका बिचमा जवाफ दिन समस्या भएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताए । असहज परिस्थितीमा मात्रै स्थानीय सरकारलाई गुहार्ने प्रचलन रहेका उनको भनाई थियो ।

प्रदेश र संघ मातहतका कार्यालय र ठेकेदार कम्पनीले स्थानीय सरकारसँग समन्वय नगरेको र होर्डिङ बोर्ड समेत निर्माणस्थलमा नराखेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । आगामी दिनमा आफुखुसी काम नगर्न उनले सुझाए । सदरमुकामबाट सबै पालिकाको केन्द्रसम्मको सडक कालोपत्रे गर्न, विद्युत विकासको कामलाई पूर्णता दिन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष अधिकारीको भनाई थियो ।

निर्माण व्यवसायीहरुले अनेक बहाना बनाएर काम नगर्दा समृद्धिको यात्रा सुस्ताएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माको भनाई थियो । कतिपय ठेकेदारहरु सम्पर्कमा नरहने र गरेका कामहरु पनि मापदण्ड अनुसार नहुने समस्या रहेको अध्यक्ष शर्माले बताए ।

कार्यक्रममा सबैजसो सरोकारवालाले जिल्लाको विकास निर्माण प्रति चासो देखाएका थिए ।

कार्यक्रमका सहभागीहरु
प्रमुख जिल्ला अधिकारीले जिल्लामै पहिलो पटक अति महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै मन्त्री सांसद र सरोकारवालाले प्रशंसा गरेका थिए ।

कार्यक्रमको सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भटराईले गरेका थिए ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  ८ : ३१ बजे