२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकाेशीमा यसवर्ष पिङ खेल्न नपाइने



ओखलढुंगा ।ओखलढुंगाको सुनकोशी गाउँपालिकाले यसवर्ष पिङमा प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिकाको बैठकले दशैं दिपावलीमा पिङ खेल्ने चलनलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै पिङमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नेपालीहरुले महान पर्वमा रुपमा मनाउने दशैं, दिपावली जस्ता पर्व यसवर्ष कोरोना भाइरसका कारण जोखिमयुक्त बनेकाले पर्वमा नाममा पिङ, मेला, भेला सहितका जमघट हुने कार्यक्रम गर्न नदिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । शुभकामना आदान प्रदान, खेलकुद, मनोरञ्जनलगायतका सार्वजनिक कार्यक्रम समेत बन्देज गरिने उनको भनाई छ । ‘यो वर्ष स्वस्थ रहनसकियो भने अर्को वर्ष धुमधाम पर्व मनाउन पाइन्छ भन्ने सन्देश सहित हामीले पिङमा प्रतिवन्ध लगाएका छौं । शुभकामना र अन्य मनोरञ्जनका लागि आयोजना गरिने कार्यक्रमहरु पनि गर्न-गराउन रोक लगाएका छौं ।’ अध्यक्ष अधिकारीले भने,‘समुदायस्तरमा अहिले संक्रमण छैन । बाहिरबाट आएका व्यक्तिबाट संक्रमणको जोखिम हुने अझ भिडभाडले झन समस्या निम्ताउने भएकाले पालिकाले निर्णय गरेर सबै वडामा सर्कुलर पठाईसकेको छ ।’ पर्वमा समयमा हुने असाबधानीका कारण स्वास्थ्यमा समस्या आउन सक्ने र रोगको जोखिम बढ्न सक्ने भन्दै टोल टोलमा सतर्कता सन्देश प्रवाह गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । सचेतनाका अभियानमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, कर्मचारी, स्थानीय युवा तथा सरोकारवालालाई परिचालन गरिने छ ।

पर्व मनाउन शहरबाट गाउँ फर्किनेहरुका कारण कोरोनाको संक्रमण फैलन सक्ने भएकाले अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २०७७, २६ आश्विन सोमबार ००:००  ११ : ३३ बजे