२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश-५ को नाम ‘मगरात–लुम्बिनी’ राख्न माग



बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् ।

नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै आपत्ति प्रकट गरेका छन् । मगर संघका अध्यक्ष नवीन रोका मगर र मगरात संयुक्त संघर्ष समितिका संयोजक बोम दर्लामी मगरले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा प्रदेशको नाम लुम्बिनी राखिनु मगरातबासी जनताको चाहना विपरीत, नेपालको संविधान र संघीयताको मर्म विपरीत कार्य भएको उल्लेख छ ।

आफूहरुको मागलाई बेवास्ता गरिएमा साविकका प्रदेश नं. ४, ५ र ६ को ऐतिहासिक मगरात भूगोललाई समेट्ने गरी एकीकृत मगरात स्वायत्त प्रदेश निर्माणका लागि सशक्त आन्दोलन गर्न वाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत् दिइएको छ ।

यही असोज २० गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘लुम्बिनी’ नामकरण गर्ने र राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित गरेको थियो ।

मुलुक केन्द्रिकृत र एकात्मक व्यवस्थाबाट संघीयतामा रुपन्तरण भई सात प्रदेशमा विभाजन गर्दा मगर समुदायको ऐतिहासिक भूगोल, सघन बसोबास रहेको मगरात भूमिलाई तीन वटा प्रदेश (प्रदेश ४, ५ र ६) मा विभाजन गरिएको र त्यसविरुद्ध मगर समुदायले निरन्तर आन्दोलन गरिरहेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

प्रकाशित मिति : २०७७, २६ आश्विन सोमबार ००:००  ११ : ५३ बजे