२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जारको पानीको मूल्य उद्योगीले आफूखुसी बढाए




काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ बनाउन पत्राचार गरेको हो ।

२० लिटरको जारमा भरिएको पानीको बजारमा यसअघि ब्रान्ड नै पिच्छे फरक(फरक मूल्य थियो । एसोसिएसनको निर्णयपछि काठमाडौं उपत्यका र बनेपामा रहेका १७५ वटा पानी कम्पनीको जारको पिउने पानीको मूल्य प्रतिजार ५० रुपैयाँ पुगेको छ ।

जारको पिउने पानीको मूल्य र गुणस्तरमा मनपरी भएपछि यसलाई समायोजन गरिएको नेपाल बोटलर्स बाटर एसोसिएसनको दाबी छ । वाणिज्य विभागकै रोहबरमा गत साउनमा तोकिएको अधिकतम् मूल्यसम्बन्धी सम्झौतालाई आधार मानेर उत्पादक र वितरकको मूल्य तोकिएको संघका महासचिव दुर्गाबहादुर गौतमले बताए ।

‘मूल्य बढाएको होइन, समायोजन गरेका हौं, खुद्रा पसलेले बढी मूल्य लिएर उपभोक्तालाई पानी बिक्री गरिरहेको हुन सक्छन्,’ एसोसिएसनका महासचिव गौतम भन्छन, ‘उत्पादकबाट २० रुपैयाँमा किनेको एक जार पानी बिचौलियाले ६० रुपैयाँसम्ममा बिक्री गरेको थाहा पाएका छौ । बिचौलिया हटाउन उपभोक्ता मूल्य तोकिएको हो ।’

एसोसिएसनले तोकेको मूल्यले उपभोक्तालाई बढीमा ४० रुपैयाँमा जारको पानी पाउने वातावरण बन्ने भन्दै उनले ५० रुपैयाँ जारमै लिने काम उत्पादकले नगरेको दाबी गरे । गत साउनमा २१ वटा पानी उद्योगको पानीको उत्पादन, गुणस्तर र लागतको आधारमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको अधिकतम् मूल्य निर्धारण गरेको थियो ।

पानीको मूल्य निर्धारणबारे विभागले गरेको निर्णय कार्यन्वयनमा नआइसकेको भए पनि बजारमा पानीको मूल्य बढाइएको जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

लिखित रुपमै मूल्य बढाउन तालुकको संघले पत्राचार गरेको सूचना प्राप्त भएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

बजारमा ठूलो खपत रहेको २५ रुपैयाँमा बिक्री भइरहेको बोतल बन्द पानीको मूल्य विभागले १६ रुपैयाँमा झारेको र जारको पानीको अधिकतम् मूल्य ६० रुपैयाँबाट ५० मा झारिएको निर्देशक आचार्यले बताए ।

सरकारी तथ्यांकअनुसार देशभर ६३८ वटा पानी उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्यकार र बनेपामा मात्रै १७५ वटा पानी कम्पनी दर्ता छ । पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसन आवद्ध संस्थाहरुसँग भने ५८५ पानी उद्योग आवद्ध छन् ।

प्रकाशित मिति : २०७७, २६ आश्विन सोमबार ००:००  १२ : ३२ बजे