काठमाडौं । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार अब सरकारले नगर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो।
तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो।
आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ।
‘विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार निःशुल्क गरिनेछ,’ प्रवक्ता गौतमले भने, ‘तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिनेछ।’
डाक्टर गौतमका अनुसार अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ।
‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुनेछ,’ उनले भने।











