२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्येष्ठ नागरिकको दशैं : वृद्धाभत्ताको सहारा



फुुलेको कपाल, नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरि पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाको हर्षले खुलेका ओठ । सुकेको जिब्रोबाट जबरजस्त औँलामा थुक लगाउँदै पैसा गन्न व्यस्त अवस्थामा भेटिनुु भएका खिजीकातीका विमला तामाङ दशैंको मुखमा भत्ता पाउँदा दंग हुनुुहुथ्यो । उहाँले सामाजिक सुरक्षा भत्ता बुझ्न थालेको २६ वर्ष भयो ।

सरकारले सामाजिक सुरक्षाभत्ताको नीति ल्याएकै वर्ष उहाँले एकल महिलाले पाउने सय रुपैंया भत्ता पाउनुुभएको थियो । उमेरले ७० वर्ष पारगरेपछि एकल महिला भत्ताबाट वृद्धा भत्ता पाउनेमा उहाँको नाम सुचिकृत भयो र त्यसयता उहाँले निरन्तर वृद्धा भत्ता लिनुु हुुन्छ । ‘यो गाउँमा सबैभन्दा पहिला भत्ता खाने मान्छे हुुँ । त्यो बेला महिनाको सय रुपैंया दिन्थे, अहिले ३ हजार पुुग्यो ।’ तामाङले भन्नुुभयो, ‘अरु आउनेबाटो हुँदैन ऋणपान गरेर खर्च चलाएपनि वृद्धभत्ता आएपछि तिर्न पुुग्छ । दशैंका बेलामा आएको चाँही दशैंमै ठिक्क हुन्छ ।’ समयमै भत्ता नपाए छट्पटि हुने उहाँ बताउनुहुुन्छ ।

वर्षमा ४ पटक चौमासिक हिसाबले सामाजिक सुरक्षा भत्ता वितरण हुुन्छ । वृद्धाभत्ता बापत ज्येष्ठ नागरिकले अहिले मासिक ३ हजारका दरले एक चौमासिकमा १२ हजार पाउँछन् । अरुबेला आउने भत्ता बापतको रकम सामान्य खर्चमा सिकिएपनि आर्थिक वर्षको पहिलो चौमासिकमा पाउने भत्ता ज्येष्ठ नागरिकको दशैंको सहारा बन्छ ।

भत्ता पाएकाे रकम गन्दै एक वृद्ध

सरकारले दिने भत्ता बाहेक अन्य आयस्रोत नभएका ज्येष्ठ नागरिकलाई भत्ता पाएपछि बल्ल दशैं आएजस्तो हुन्छ । दुवै आँखा नदेख्ने खिजीदेम्बा ४ का पवित्रा भुजेलले पहिलो पटक यसवर्ष १२ हजार भत्ता पाउनुुभयो । त्यो रकमले दशैं उज्यालो हुुने उहाँको अपेक्षा छ । विगतमा उहाँका श्रीमान् दलबहादुर भुजेलले पाउने भत्ताले जेनतेन खर्च चल्थ्यो । अब दुुवैजनाले पाएको २४ हजार पैसाले यसवर्षको दशैं टार्ने भुुजेल दम्पतीको योजना छ । ‘छोरा–छोरीले कमाए आफैँ रमाए, अलि अलि त बेलाबेलामा दिन्छन् बुढाबुढीको व्यथा कसलाई के थाहा,’ दलबहादुर भन्नुुहुुन्छ, ‘जसो तसो खान पुुगेकै छ । भत्ताले गर्दा अरू ऋण खोज्न परेको छैन, दशैं पनि टर्छ ।’ सामाजिक सुरक्षा भत्ताले कैयन वृद्धवृद्धाको जीविकोपार्जन र सामान्य औषधिपचारमा सहजता प्रदान गरेको छ । कमाइ नहुनेले घर खर्च धानेका छन् । कमाइ हुनेले पनि आफ्नो आवश्यकता पूरा गर्न सामाजिक सुरक्षा भत्ता खर्च गर्छन् । अहिले लकडाउन थपिँदै गएकाले कति विपन्न परिवार समस्यामा परेका छन् । न खाने अन्न न त खर्च गर्ने पैसा । यो अवस्थामा  सामाजिक सुरक्षा भत्ताले लक्षित वर्गलाई निकै गुन लगाएको छ ।

भत्ता बुझेपछि खिजीकातीका ज्येष्ठ नागरिक ।

कातीगाउँका तिलमायाँ र कमलमायाँ मगराती जस्तै उमेरले ८६ कटेका वा बहादुर र पविमायाँ सुनुवार दम्पतीको पनि वृद्धभत्ता बाहेक आम्दानीको अर्को स्रोत छैन । अन्य आयस्रोत सामान्य भएपनि सोही गाउँका पूर्णबहादुर सुुनुुवार, विरबहादुर तामाङ, सर्किनी शेर्पा र विर्ख बहादुर खत्री लगायतलाई खर्च धान्न भत्ताकै भर छ । ‘भाइरस आयो सबै कुरामा समस्या भयो भन्थे । यो पालि भत्ता दिँदैनन् क्यारे दशैं कसरी मनाउने भन्ने पिरलो थियो । वडा अध्यक्षले घरैमा भत्ता ल्याएर दिनुुभयो, अब ढुक्क भयो ।’ छोरा, बुहारीबाट अपहेलित बूढापाकालाई सरकारको भत्ताले टेवा पुगेको छ ।

जिल्लाको मोलुुङ गाउँपालिका ३ प्राप्चाका ९० वर्षिया धनकुमारी सुुनुुवारलाई पनि भत्ता आएपछि दशैं आएको जस्तो लाग्छ । गाउँमा सबैले क्याप्टननी बजुु भनेर अग्रज मान्ने भएकाले नातीनातीनी र आफन्तलाई स–साना सहयोग गर्न र आफुुलाई औषधि किन्न भत्तामा पाएकै पैसाले पुुग्छ ।

लक्षितवर्गका अधिकांश नागरिक राज्यले दिने सुविधाकै भरमा गुजारा चलाउने गरेको खिजीदेम्बा ४ का वडाअध्यक्ष कमल न्यौपाने बताउनुहुन्छ । ‘वृद्ध वृद्धा एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको बलियो सहारा भनेकै सामाजिक सुरक्षा भत्ता हो । कतिपय आमाबुुबालाई भत्ता आउने लोभले मात्रै पनि छोराछोरीले पाल्ने गरेको समेत भेटिन्छ ।’ वडाअध्यक्ष न्यौपानेले भन्नुभयो,‘दशैं आउन लागेपछि दशैं अगाडी भत्ता नदिए खर्च देउ है भन्नुुहुुन्छ बा आमाहरु । सहारा विहिनहरुको अवस्था दयनिय देखेरै हाम्रो वडामा एकल पुरुषलाई पनि भत्ता दिन सुरु गरेका छौं ।’ खिजीदेम्बा ४ मा ६० वर्ष माथिका एकल पुरुषले पनि मासिक ५ सयका दरले भत्ता पाउन थालेका छन् ।

ज्येष्ठ नागरिकको दशैं खर्च वृद्धाभत्ताकै रकमको भर हुने भएपछि जिल्लाका सबै स्थानीय तहले दशैं अगावै सामाजिक सुरक्षाभत्ता निकासा दिन्छन् । ‘अरु सबै काम पछि सारेर भएपनि दशैं अगाडी नै भत्ताको रकम निकासा गर्न दवाव हुुन्छ ।’ खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले भन्नुुभयो, ‘राज्यले दिने रकम आउला र खर्च टारौंला भनेर बस्नेहरुको अवस्था बुुझेर बेलैमा हामी निकासा दिन्छौं र वडा मार्फत वितरण हुुन्छ ।’ जिल्लामा सिद्धिचरण नगरपालिका र मोलुुङ गाउँपालिकाका केही वडामा बैंक मार्फत भत्ता वितरण हुन्छ । अन्य वडाहरुमा जनप्रतिनिधि र कर्मचारीले घरघरमै लगेर भत्ता वितरण गर्ने गरेका छन् ।

सरकारले ज्येष्ठ नागरिकका लागि मासिक तीन हजार, दलित ज्येष्ठ नागरिकका लागि दुई हजार, एकल तथा विधवाको लागि दुई हजार, दलित बालबालिकाको लागि चार सय, पूर्णअपांगको लागि तीन हजार र अति अपांगको लागि १६ सयका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २०७७, ९ कार्तिक आइतबार ००:००  ५ : ४४ बजे