२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान



जनकपुर। भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न पछि पर्दैनन् ।

सिरहामा एउटा यस्तै घटना भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको थियो । घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनले लगाए । उनले यो आरोप मात्रै लगाएनन्, निर्घात कुटपिट गर्दै दिसा खुवाउने प्रयाससमेत गरे । ‘दिसा खुवाउनै लाग्दा पुगेको प्रहरी टोलीले बचाएको थियो,’ सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले भने ।

रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने शर्माले बताए ।

सुदामाका दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी थिइन् । गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भइन् ।

तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।

शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।-अनलाइनखबर

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  १२ : २४ बजे