२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखालमा माताले पन्युँले डामिन् बिरामीलाई



काभ्रे ।काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ की शर्मिला विक गत शुक्रबार बिरामी परिन्।
उनी काम्ने, नजिक भएका मान्छेहरूलाई चिथोर्न जाने र चिच्याउन थालिन्।

शर्मिलाको परिवारका अनुसार दुई वर्षअघिदेखि उनले डिप्रेसनको औषधी खाइरहेकी थिइन्।

श्रीमान् वैदेशिक रोजगारीमा थिए।श्रीमान् विदेशमा हुँदा उनको माइतीले नै उपचारको व्यवस्था गरिदिएका थिए।पाँच वर्षको वैदिशक रोजगारीपछि गत वर्ष मात्रै उनी नेपाल फर्किएका छन्।

औषधी खान सुरू गरेपछि शर्मिलाको दैनिकी सामान्य हुँदै गइरहेको थियो। कहिलेकाहीँ बिरामले च्यापे पनि पहिलाभन्दा निकै कमी आइसकेको थियो। तर, गत कात्तिक १५ गते अचानक उनलाई फेरि बिराम लाग्यो।

‘औषधी उपचारपछि नि दिदीलाई ठिक नभएपछि भिनाजुले घरबाट नजिकै रहेको नाम चलेकी मातालाई बोलाउनु भएछ, दिदीलाई बोक्सी लागेको भनेर माताले पुन्यूँले मुख र शरीरमा डामिदिइछन्,’ पीडितका भाइ दीपक रसाइलीले भने।

कोसीपारिबाट माइती पक्ष शनिबार शर्मिलाको घरमा आउँदा पनि शर्मिलालाई अस्पताल लगिएको थिएन। उनको घरेलु उपचार मात्रै गरिएको अवस्थामा माइती पक्षले धुलिखेल अस्पताल लगे।

धुलिखेल अस्पतालबाट उनीहरूले थप उपचारका लागि काठमाडौंको छाला अस्पतालमा लगे। अहिले शर्मिलाको काठमाडौंमा नै उपचार भइरहेको छ।

‘दिदीको अवस्था चिन्ताजनक छैन तर सामान्य पनि छैन। यस्तो अमानवीय काम गर्ने माताविरूद्ध मुद्दा हालेका छौं, आशा छ न्याय पाउँछौं,’ दीपकले भने।

काभ्रे प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाका अनुसार यस घटनामा संलग्न आरोपमा पाँचखाल नगरपालिका वडा नम्बर १२ की माता भनिने १९ वर्षीया ईश्वरी थापाविरुद्ध गत शनिबार मुद्दा दर्ता भएको छ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  ११ : ४४ बजे