जुम्ला। जुम्लामा तीनवटा गाउँपालिकाले मात्र एम्बुलेन्स सेवा दिइरहेका छन् । एम्बुलेन्स सेवा दिने गाउँपालिका सिंजा, हिमा र पातारासी हुन्। अन्य एक नगरपालिकासहित चार गाउँपालिकाले भने एम्बुलेन्स सेवा दिएका छैनन् ।
गाउँपालिकाले गत वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अध्यक्ष रजबहादुर शाहीले बताए । कनकासुन्दरी, गुठीचौर, तिला, तातोपानी गाउँपालिकाले भने चालू आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेका छन् । स्थानीय तहले कर छुट गरेर १०-१० लाख रुपैयाँ बजेटमा एम्बुलेन्स खरिद गर्ने तयारी गरेका छन् ।
एम्बुलेन्स सेवा सञ्चालनले यहाँका जटिल बिरामीलाई जुम्लाको सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ । गत वर्षदेखि नै स्थानीयवासीलाई सेवा दिन उद्देश्यका साथ गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार गुठीचौरले चालू आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार एम्बुलेन्स खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ । चालू आर्थिक वर्षबाटै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनेछ ।