सिन्धुली । सिन्धुलीका विद्यार्थीहरुले रोकिएको कक्षा ११ को परिक्षामा सामेल हुन परिक्षा दस्तुर दोहोरो तिर्नुपर्ने भएको छ ।
यसअघि परिक्षा दस्तुर वापत प्रति विद्यार्थी ६ सय रुपैंया असुल गरेपनि कक्षा ११ को परिक्षामा सामेल हुनका लागि फेरि पाँचसय थप दस्तुर बुझाउनुपर्ने भएको हो ।
कोभिड १९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीहरुलाइ दोहोरो दस्तुर लिनु गैर कानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाहरुले चेतावनी दिएका छन् ।
पहिला नै परिक्षा दस्तुर ६ सय लिइएको छ, फेरि परिक्षामा सामेल हुनका लागि पाचसय थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनराबलोकन गर्नु पर्ने नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले बताए ।खड्काले विद्यार्थीहरुलाई दोहोरो मार पार्ने काम भए चुप भएर नवस्ने चेतावनी समेत दिएका छन् ।
राष्ट्रिय परिक्षा वोर्डले कोभिड १९ का कारण परिक्षा संचालन खर्च पठाउन नसकिएका विद्यार्थीहरुसँग उठाउन लागिएको बुझिएको उनले बताए । गतवर्ष नै परिक्षा दस्तुर लिइसकेपछि फेरि विद्यार्थीहरुलाई परिक्षा संचालन खर्च भनेर माग्नु जायज नहुने उनको भनाई छ ।
शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका शिक्षाशाखा प्रमुख, पेशागत संगठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकहरु बीच कात्तिक २१ गदेदेखि परिक्षा सुरु गर्ने सहमति भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाईका सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले राष्ट्रिय परिक्षा बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परिक्षा विद्यालय आफैले सञ्चालन गर्ने कार्य विधि बनाएको जानकारी दिए। गजुरेलका अनुसार परिक्षामा सिन्धुली जिल्लाका क्याम्पस सहित ६३ वटा माविका कक्षा ११ मा अध्ययनरत तीनहजार १५० विद्यार्थी सहभागि हुने छन् ।