२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलिखेल-नगरकोट सडक कालोपत्रे गरिँदै



काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक को पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ।
वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो।

वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै गोसाइँस्थान–टनचोक–काँसीभञ्ज्याङ–नगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ।

बनेपा नगरपालिका–६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल–नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिक रूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए।

त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको छ। सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ। वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब रु ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको छ।

उक्त सडक सञ्चालनमा आएपछि अरनिको र बिपी राजमार्गमा सवारी चाप कम हुनेछ। सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं ९, १० र ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ। नेपाल सरकारले १२८ वैकल्पिक राजमार्ग बनाउँदै छ। एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको छ। जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ।

प्रदेश सरकारले काभ्रेपलाञ्चोकको २ नं निर्वाचन क्षेत्र ख अन्तर्गत ११ वटा सडकको डिपिआर सम्पन्न गरिसकेको जनाएको छ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  १२ : ०९ बजे