काठमाडौं । उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका हितेन्द्र देव शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा चुलिएको छ ।
गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई काज फिर्ता गर्ने निर्णय गरेको थियो । आजै आफूले काज फिर्ताको पत्र पाएको शाक्यले बताए । उनले भने, ‘मैले पत्र त पाएँ, आजै बुझबुझारथ गरेर प्राधिकरण जान्छु ।’
उनी कार्यकारी निर्देशक बन्नका लागि आफ्नो सबै योग्यता पूरा भएको बताउँदै भन्छन,‘वरिष्ठको आधारमा हुनुपर्ने त म नै हो तर उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले टुङ्गो लगाउने भएकाले अहिले नै भन्न सक्ने अवस्था छैन ।’यद्यपि, सरकारले आफूलाई कार्यकारी निर्दशकको पनि जिम्मेवारी दिनेमा उनी विश्वस्त देखिन्छन् ।