२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीमा विजयोत्सव मनाइंदै



सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५३ वर्ष पूरा भएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने भएको हो ।

कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको र विजयोत्सव भव्यताका साथ नमनाइने नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उनको भनाइ छ । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

 नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु बोलाई र्याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगर प्रमुख खत्रीले बताए । यसपटक विजयोत्सवमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

सिन्धुलीगढी नेपालीहरुले अंग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उनको भनाइ छ । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने उनले जानकारी दिए ।

विक्रम सम्वत् २०६७ मा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन शुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासङ्घले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन शुरु गरेको थियो ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार ००:००  १० : ५८ बजे