बाँके । कोरोना परिक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारिश पर्चाको दुरुपयोग गर्ने ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीसँग शुल्क अशुली गरेको आरोपमा भेरी अस्पताल नेपालगन्जका कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काका अनुसार अस्पतालमा कार्यरत दुई सुरक्षा गार्ड र एक हेल्परले चिकित्सकको हस्ताक्षर किर्ते गरी नक्कली सिफारिश पत्र बनाएर अन्य बिरामीलाई बेच्ने गरेका थिए ।
उनीहरुले निश्चित रकम अशुली गरेर बिरामीलाई निःशुल्क परिक्षणको सिफारिश भिडाउने गरेका थिए । त्यति मात्र होइन बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए वा घटनामा अन्य व्यक्ति संलग्न भए नभएको बारेमा समेत अनुसन्धान चलिरहेको खड्काले जानकारी दिए । -रेडियो नेपाल











