पाँचथर।प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको पुस ०७५ मा मेची राजमार्गको राँके खण्डदेखि पाँचथरको दक्षिणी बजार रवि हुँदै धनकुटा भेडेटार जोड्ने सडक कालोपत्रे योजना अलपत्र परेको छ ।
रवि बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले तोकिएकोे समयमै काम सकिने विषयमा स्थानीय बासिन्दालाई विश्वस्त पारे पनि तीन वर्षमा सकिनुपर्ने काम दुई वर्ष बित्न लाग्दा पनि सात प्रतिशत मात्र काम भएको हो ।
निर्माण भएको दुई दशकपछि करिब एक सय किलोमिटर सडक कालोपत्रे गर्न लागिएको थियो । तीन वर्षभित्र कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफ्को इन्फ्राको प्रालिसँग ठेक्का सम्झौता भएको छ । तीन करोड २६ लाख १८ हजार पाँच सय ४१ अमेरिकी डलरमा काम सकिने अनुमान थियो । नेपाल सरकारको १३ प्रतिशत र भारतको ८७ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख छ । ५० प्रतिशत भारतमा उत्पादित निर्माण सामग्री प्रयोग गर्ने गरी न्यूनतम ब्याजदरमा भारतीय एक्जिम बैंकले ऋण दिने सहमति पनि छ ।
यो सडकसँग धनकुटाका पहाडी भेगका बजार र बस्तीहरू भेडेटार, नाम्जे, ओखे्र, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मुढेवास, सौरेबजार र ६ नम्बर बुधबारेलाई समेट्छ । यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौँडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुर्बिसे पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत ग्रामीण बजार यस सडकमा जोडिन्छन् । इलामका फुयँतप्पा, चमैता, एकतप्पालगायत क्षेत्र पनि यही सडकमा आसपास पर्छन् । राँके–भेडेटार सडकलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक पनि तयार भएका छन् ।
कालोपत्रेको काम अगाडि नबढेपछि यसबीचमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले स्थलगत अनुगमन पनि नगरेका होइनन् । पाँचथरबाट नेकपाका सांसद रहेका मन्त्री नेम्बाङको अनुगमनपछि निर्माण अगाडि बढ्ने स्थानीय बासिन्दाको अनुमान अहिलेसम्म सत्य सावित भएको छैन ।
२०७७, ८ मंसिर सोमबार ००:००
0
Shares