२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वर्ष नबनेकाे मान्द्रेको पुल यहिवर्ष बनाउने राज्यमन्त्री गुरुङको प्रतिवद्धता



प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले अलपत्र मान्द्रेको पुल निर्माण सम्पन्न गराउने प्रतिवद्धता जनाएका छन् । ओखलढुंगामा विगत १० वर्ष अघि ठेक्का लागेर काम नभई  अलपत्र रहेको जिल्लाको पश्चिमी क्षेत्र जोड्ने मोलुङ खोलाको मान्द्रे दोभानको पुल यहिवर्ष भित्र बनाइसक्न पहल गर्ने राज्यमन्त्री गुरुङले प्रतिवद्धता जनाएका हुन् ।

राज्यमन्त्री गुरुङले आईतबार मान्दे पुलको स्थलगत अनुगमन गरेका छन् । जिल्लाका सबै रुग्ण योजनाको काम तत्काल अघि बढाएर अधुरा योजना सम्पन्न गराउने योजना अनुसार राज्यमन्त्री गुरुङले मान्द्रे पुलको अनुगमन गरेका हुन् ।

अनुगमन पश्चात् स्थानिहरुलाई सम्बोधन गर्दै राज्यमन्त्री गुरुङ्गले पुलको निर्माण कार्य चाडै सम्पन्न गराउने विश्वास दिलाए । ‘मान्द्रेको पुल समयमा नबन्नुको कारण पत्ता लगाएर तत्काल काम सुरु गराउने र यहि वर्ष पुल बनाइसक्न मेरो आजैबाट पहल सुरु हुन्छ ।’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कारबाही र समयमा भनेजस्तो काम गर्नेलाई पुरस्कृत गर्ने सरकारको नीति छ । अब ठेकेदारका बहानाबाजी चल्दैन । काम सुरु हुन्छ । मान्द्रे पुलका बारेमा फेरि तपाईहरुले गुनासो गरिहन पर्दैन ।’ चालु आर्थिक वर्षमा प्रदेश सरकारले मान्द्रे दोभानको पुलको लागि दुई करोड बजेट विनियोजन गरिसकेको राज्यमन्त्री गुरुङले जानकारी दिए ।

हेलिकप्टर माफर्त पुल अनुगमनमा पुगेका राज्यमन्त्री गुरुङलाई स्थानीयले जिम्मा लिएर काम अधुरो राख्ने ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । मान्द्रे पुलको ठेक्का लागेपछि भएका तीनवटा निर्वाचनमा चुनावी एजेण्डा बनाएपनि कुनै नेताले पुल बनाउन नसकेको भन्दै राज्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । ‘हामीले जुन सिडियो आएपनि भन्यौं,कुनै नेतालाई अनुरोध गर्न बाँकी राखेनौं । सबैले हुन्छ भने कसैले गरेनन् ।’ कुन्तादेवीका स्थानीय कमल बानीयाँले राज्यमन्त्री गुरुङलाई भने,‘अब तपाइको आशा छ । यो जिल्लाकै विकासमा अर्थ राख्ने विकास हो जसरी पनि यसलाई पुरा गरिदिनु हुन अनुरोध छ ।’ मान्द्रे दोभानमा मन्त्री भेट्न आएका सबैजसो स्थानीयले तत्काल अलपत्र आयोजना सम्पन्न गराउन माग गरेका छन् ।

राज्यमन्त्री गुरुङको स्थलगत अवलोकन र आश्वासनले अलपत्र योजना सम्पन्न हुने आशा पलाएको सुनकोशी ९ कटुञ्जेका वडा अध्यक्ष झनककुमार कार्कीले बताए । यसअघि जिल्लाका अन्य नेता, सांसद र प्रशासकहरुले पनि मान्द्रे पुलको काम अघि बढाउन पहल गरेका थिए । तर ठेकेदारले अटेर गरेका कारण काम अघि बढ्न सकेको छैन ।

यस्तो छ, मान्द्रे पुलको कथा–व्यथा

मोलुङ र सुनकोसी गाउँपालिका जोड्ने मान्द्रे दोभानको पुल निर्माणको जिम्मा राजेन्द्र–लोकप्रिय जेभीले लिएको थियो । यसका ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद डडेलधुराको परशुराम नगरपालिकाका मेयर छन् ।

डिजाइन फेल भएको भन्दै काम सक्नुपर्ने बेलासम्म सुरु नै गरिएको थिएन । दुई वर्ष लगाएर डिजाइन फेरी पिलर राख्न थाले पनि अलपत्र छ । तर, जग खन्नासाथ त्यहाँ प्रयोग भएका सामान विग्रीए । यही बहानामा दुई वर्ष काम भएन । ठेकेदारले तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल मार्फत पिलर शिलान्यास र मसानपूजा गराए ।

ठेकेदार साउद फिल्डमै आएनन् । उनले प्रतिनिधि बनाएर रवीन्द्र लामालाई पठाए । पटक–पटक पुल सम्पन्न गर्ने मौखिक तथा लिखित प्रतिवद्धता जनाए पनि काम नभएपछि लामा पक्राउ परेका थिए । पुनः काम थालिहाल्ने सहमतिमा उनी छुटेका थिए । तर काम अघि बढ्न सकेन । ठेकेदार साउद न जिल्ला आएका छन् न त उनले काम अघि बढाएका छन् । ठूला नेतासँगको पहुँच र आफैं जनप्रतिधि भएकाले यहाँका स्थानीय तहका प्रमुखले यसमा प्रश्न गर्न सकेका छैनन् ।

पटक–पटक गरि तीन पटक म्याद थप भए पनि २०७६ सालको असोज महिनामा पनि अन्तिम पटक भन्दै जिल्लामा बसेको सर्वपक्षीय बैठकले पुलको निर्माण कार्य सकाउन ठेकेदार कम्पनीलाई २०७६ सालको चैत मसान्त सम्मको लागि अन्तिम समय दिएको थियो । पुलको ठेकेदार कम्पनी राजेन्द्र लोकप्रिय जेभिले पुलको पिलर उठाउने काम पनि आधामै छाडेको छ ।

समयमै पुल नबन्दा लागत झन्डै दोब्बर पुगेको छ । सुरुमा ३ करोड ३२ लाख ५५ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । डिजाइन फेरिएपछि लागत ५ करोड ६९ लाख पुगेको हो । स्विस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का जिविसले लगाएको थियो । प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी) ले गरेको थियो ।

८० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण हुनुपर्ने थियो । मान्द्रेमा पुल नबन्दा त्यस क्षेत्र भएर आवत जावत गर्ने यात्रु मात्रै मारमा परेका छैनन् जिल्लाको पश्चिमी क्षेत्रको विकास समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार ००:००  ११ : १५ बजे