स्याङ्जा। काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नौलो अभियान शुरु गरेका छन् ।
बोगटीका अनुसार हरेक मानिसको दैनिकी सर्वप्रथम घरकै माहोलबाट चलिरहेको हुन्छ। घरको वातावरणले कार्यालयको काममा सिधै असर गर्छ।
अझ चौबिसै घन्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीका लागि त झन् घरायसी वातावरणको असर महत्वपूर्ण नै छ। किनकि, प्रहरी सडक, चोक, बजार, कार्यालय जता पनि जनतासँग खटिरहेका हुन्छन्, त्यसैले उनीहरूको दिमाग जतिबेलै ताजा हुनुपर्छ।
‘त्यो हुनका लागि घरायसी वातावरण ठीक हुनुपर्छ,’ बोगटी भन्छन्।
परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । घर–परिवारसँग राम्रो सम्बन्ध भएन भने उत्साहका साथ काम गर्ने जाँगर नआउने भन्दै यसो गरिएको उनको दाबी छ ।
यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि महिनैपिच्छे दुई दिन बिदामा घर जान पाइने र घर टाढा हुनेले बढीमा ६ महिनामा घर बिदामा जानैपर्ने, एकमुष्ट ६ महिनामा जाँदा १८ दिन बिदा पाइने पनि उनको भनाई छ। दुई-तीन वर्ष घर जान नपाउने र कहिलेकाहीं मात्रै फोन गर्दा परिवारसँगको सम्बन्धमा निकटता नहुने भन्दै पारिवारिक निकटताका लागि यसो गरिएको बोगटीले बताए ।
पारिवारिक सम्बन्ध राम्रो भए-नभएको दैनिक फोन गरेको-नगरेको वा बिदामा घर गएको नगएको चेक गर्ने जिम्मेवारी सम्हाल्नुभएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार जिल्लामा कार्यरत प्रहरी कर्मचारीको पारिवारिक सम्बन्ध राम्रो पाएको बताए।
‘शुरु–शुरुमा त निकै लाज लाग्थ्यो तर अहिले त बानी परेको छ ।’ –स्याङ्जामा कार्यरत एक प्रहरी जवानले भने । पहिलो दिन त बुढीले अचम्म मान्दै के भनेको यस्तो भन्न लाज लाग्दैन भन्दै गाली गरेको ती जवानले बताए ।
आजभोलि त घर–परिवार पनि फोन कुरेर बस्ने गरेका र कहिलेकाहीं बाहिर गएर फोन गर्न अलि ढिला भयो भने घर–परिवार नसुत्ने गरेको भन्दै यो अभियानले पारिवारिक सम्बन्ध निकै दरिलो बनाएको ती जवानले तर्क गरे ।