२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका होटल व्यवसायीले बुझाए सरकारलाई ध्यानाकर्षण पत्र



ओखलढुंगा – ओखलढुंगाका होटल व्यवसायीहरुले सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । होटल व्यवसायी संघको अगुवाईमा सरकारलाई ध्यानाकर्षण बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका व्यवसायीहरुले लामो समयको लकडाउनका कारण होटल तथा पर्यटन व्यवसायमा धरासायी बनेकाले अब सतर्कता अपनाएर व्यवसायी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

लकडाउनका कारण होटल व्यवसाय बन्द हुने क्रम बढेको र व्यवसायी, कर्मचारी र मजदुरहरु बेरोजगार हुँदा समस्या उत्पन्न भएकाले निरन्तर व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिएको होटल व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले बताए । आफुहरुले सरकारको मापदण्ड कार्यान्वयन गर्दै ग्राहकको जीवन सुरक्षाका लागि सबै विकल्प अपनाउने तर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनको भनाई छ । ‘तीन महिना हुन लाग्यो अझै कति समय लकडाउन हुने हो ठेगान छैन । राज्य कर बुझाउन ताकेता गर्छ । व्यवसाय बन्द गर्न निर्देशन दिन्छ, कर्मचारी पाल्न र घरभाडा तिर्न पनि व्यवसायीलाई समस्या छ ।’ अध्यक्ष राईले भने, ‘सतर्कता अपनाउनुपर्छ त्यसमा हामी सतेच छौं तर व्यवसाय ठप्प राखेर बस्न सक्ने अवस्था अब रहेन ।’ व्यवसायीहरुलाई सरकारले विशेष व्याकेजको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

ओखलढुंगाका होटल तथा पर्यटन व्यवसायका प्रतिनिधीहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल मार्फत सरकारलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । लकडाउनका बेलाका विद्युत र खानेपानीको महशुल तथा घरमा भाडामा ५० प्रतिशत सम्म छुट गर्नुपर्ने, सुरक्षा विधिका साथै मापदण्ड कायम गरी व्यवसाय सञ्चालन गर्ने अनुमति दिनुपर्ने, बेरोजगार भएका मजदुरलाई राहत प्याकेजको व्यवस्थापन गर्नुपर्ने, व्यवसाय सञ्चालनका क्रममा लिईएको कर्जाको लकडाउनको अवधिभरी ब्याज मिनाहा गर्नुपर्ने, साथै व्यवसाय पुनः सञ्चालन नभए सम्म कम्तीमा २ वर्ष पछि किस्ता बुझाउने व्यवस्था मिलाउनुपर्ने, राज्य बाट विभिन्न शिर्षकमा लिईने करमा छुट गर्नुपर्ने, योजना तर्जुमा गर्न बनाईने समिति तथा उपसमितिमा होटल व्यवसायी तथा सम्बन्धित संघ संस्थाका प्रतिनिधि अनिवार्य राखिनुपर्ने लगायतका माग राख्दै व्यवसायीले तीनवटै तहका सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

व्यवसायीहरुले सोही प्रकृतिको पत्र सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठलाई पनि थमाएका छन् ।

होटल व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राई नेतृत्वमा संघका उपाध्यक्ष कमला राई सल्लाहकार जनक श्रेष्ठ, ठाडे मगर सामुदायीक होमस्टेका उपाध्यक्ष हरिकुमार मगर सहित सम्बन्धित क्षेत्रका सात जना व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मुख्यमन्त्री कार्यालउ प्रदेश नम्बर १, स्थानीय सरकारलाई माग सहितकोे  ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कोरोना रोकथाममा सरकारको निर्णयलाई कार्यान्वयन गर्दै सहकार्य गर्ने ओखलढुंगाका होटल व्यवसायीहरुले बचन दिएका छन् । होटल व्यवसायी संघले केही दिन अघि जिल्लाका सबै स्थानीय तहलाई कोरोना विरुद्धको अभियानमा केही स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

प्रकाशित मिति : २०७७, ३१ जेठ शनिबार ००:००  ३ : २१ बजे