२०८२, २२ जेठ बुधबार | Thu Jun 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्ट्रेलियामा कोरोना संक्रमित पत्ता लगाउन कुकुर !



अस्ट्रेलिया । अस्ट्रेलियाले कोभिड–१९ संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिम प्राप्त कुकुरको परिचालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानलाई बिस्तारै सुरु गर्ने प्रक्रियामा रहेको अस्ट्रेलियाले कुकुरहरूको सहयोगले विदेशबाट आउने संक्रमित पत्ता लगाउन सहज हुने बताएको छ ।
कुकुरलाई पसिनाबाट आउने विशेष किसिमको गन्ध सुघ्न लगाएर त्यसको माध्यमबाट प्रारम्भिक चरणमा संक्रमितको पत्ता लगाउन तालिम दिइएको छ । यात्रु संक्रमित भए, नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ ।
यस प्रक्रियाको अनुसन्धान गरिरहेकी एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. सुसन हाजेलले आफूले आवश्यक तालिम गरिसकेको र अर्को चरणमा यस्ता तालिमप्राप्त कुकुरलाई अन्तर्राष्ट्रिय यात्रु आउने विमानस्थलमा तैनाथ गरिने रहेको बताएकी छन् । उनले सुरुवाती चरणको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिसमेत संक्रमित रहेको यस्ता तालिम प्राप्त कुकुरले पत्ता लगाएको बताएकी छन् । ‘तालिम प्राप्त कुकुरले अन्य परीक्षणको नतिजाबाट पोजिटिभ आउनुअघि नै उक्त व्यक्ति पोजिटिभ रहेको देखाउन सक्ने क्षमता राख्छन्,’ उनले भनिन् ।

यस कार्यको थालनी अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा सुरु गरिएको हो । अनुसन्धानकर्ता डा. हाजेलका अनुसार कुकुरले अन्य भाइरल संक्रमण पत्ता लगाउन खासै ध्यान नदिने भए पनि कोभिड–१९ संक्रमित पत्ता लगाउन प्रभावकारी हुने बताएकी छन् । द गार्जियनका अनुसार फिनल्यान्डको हेलसिन्की विमानस्थलमा यस्तै तालिम प्राप्त चारवटा कुकुरलाई नमुना कार्यक्रमका रूपमा संक्रमित पहिचानका लागि परिचालन गरिएको छ ।

अस्ट्रेलियाले आफ्ना नागरिकलाई यही मार्चदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले निर्माण भएको खोप मार्चसम्म अस्ट्रेलियालीलाई उपलब्ध गराउनका लागि सरकारले दु्रत गतिमा काम गरिरहेको जनाएका छन् ।

अस्ट्रेलियाले विश्वका विभिन्न चारवटा खोप उत्पादक कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ । स्वास्थ्य विभागका अनुसार परीक्षण प्रक्रिया पूरा भएर औषधि विभाग (थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन, टीजीए) ले अनुमति दिएलगत्तै ती खोप सर्वसाधारणलाई नि:शुल्क उपलब्ध गराइने जनाएको छ । अस्ट्रेलियाले खोप लगाउन अनिवार्य नगरेको भए पनि सबै नागरिकलाई पर्याप्त हुने मात्रा आयात गरिने तथा केही देशभित्रै उत्पादन हुने जनाएको छ । हाल ९५ प्रतिशतसम्म सफल नतिजा दिएका फाइजर, अस्ट्राजेनेकालगायत कम्पनीसँग खोप खरिद गर्न अर्बौं डलरको सम्झौता भइसकेको छ । खोप खरिदका लागि अस्ट्रेलियाले साढे ३ अर्ब डलर लगानी गरेको छ ।

‘पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप नि:शुल्क उपलब्ध गराइनेछ,’ स्वास्थ्यमन्त्री हन्टले भनेका छन् । उनले पहिलो चरणमा उनीहरूलाई उपलब्ध गराइए पनि सबै नागरिकले नि:शुल्क खोप लिन पाउनेसमेत जानकारी दिएका छन् । टिजिएले फाइजर तथा अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको भ्याक्सिनलाई पूर्वस्वीकृति दिइसकेको जनाइएको छ ।

अस्ट्रेलियाले अस्ट्राजेनेका कम्पनीबाट ३ करोड ८ लाख डोज खरिद गर्ने सम्झौता गरिसकेको छ भने फाइजरबाट १ करोड खोपसमेत ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०७७, २३ मंसिर मंगलबार ००:००  १२ : ११ बजे