२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो



काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।
यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।
आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

प्रकाशित मिति : २०७७, २३ मंसिर मंगलबार ००:००  २ : २६ बजे