नेपाल रेडक्रस सोसाईटी ओखलढुंगाको २९ औं वार्षिध साधारण सभा सम्पन्न भएको छ । आईतबार शाखाका सभापति सुमन राजभण्डारीको अध्यक्षता तथा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा एक समारोहका बिच रेडक्रसले साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको अवसर पारेर रेडक्रसले निवर्तमान सभापति मोहन कुमार श्रेष्ठ, उत्कृष्ट शाखा, शिक्षक नायक सहितका व्यक्ति र संस्थालाई सम्मान गरेको छ । राज्यमन्त्री गुरुङले सम्मानित हुनेहरुलाई दोसल्ला ओडाएर प्रशंसापत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गुरुङले मानव समुदायको हरेक संकटमा अघिबढेर काम गर्ने रेडक्रसले भौतिक विकास र आर्थिक समृद्धिका क्षेत्रमा समेत काम गरेर सरकारलाई सहयोग गरेको बताए । ‘विपद्मा परेका शोसित पीडित जनताको दुःखमा साथ दिने रेडक्रसले खानेपानी, शिक्षा, स्वास्थ्य र सरसफाई सहितका क्षेत्रमा पनि काम गरेको पाईयो । सरकारको समृद्धिको अभियानमा यसले टेवा पुगेको छ ।’ उनले भने, ‘रेडक्रसले अझै थप कार्यक्रमहरु तय गरेर अघि बढोस् राष्ट्रिय अन्तराष्ट्रिय सहयोग नपाउने भन्ने छैन । त्यसका लागि मैले सक्दो सहयोग गर्नेछु ।’ राज्यमन्त्री गुरुङले पवित्र संस्था रेडक्रसलाई थप चलायमान बनाउन सुझाव दिएका छन् ।
सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले ओखलढुंगामा रेडक्रस स्थापना देखि हाल सम्म भएका मुख्य मुख्य क्रियाकलाप, त्यसको प्रभाव सहितका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागिहरुले ओखलढुंगा रेडक्रसले सामुदायिक हितका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।
रेडक्रसले ओखलढुंगामा सामाजिक हितका विभिन्न कामहरु गर्दै आएको छ ।











