२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको आक्रोस : नगरपालिकाले ‘कर उठायो, फोहोर उठाएन’



जलेश्वर । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन्। फोहरको समेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिन प्रतिदिन दुर्गन्धित हुँदै गएको छ। नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए ।

उनले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखौँ रकम छुट्याउने र जनताबाट समेत लाखौँ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरको आरोप लगाए।

तराई-मधेशकै सबभन्दा पुरानो सदरमुकाममध्येका एक रहेको जलेश्वर अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ। उनका अनुसार जलेश्वरकै विकासको नाममा वर्षेनी करोडौँ रकम विनियोजन हुँदै आएपनि यहाँ विकासको अनुभूति हुनसकेको छैन।

जिल्लामा १५ स्थानीय तह कायम भएपनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन्। ती सरकारी कार्यालयकै आसपासमा फोहरको डङ्गुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए।

उनले जलेश्वरबासी २४ घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे।

जिल्ला अदालत, कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वयलगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डङ्गुर छ।

विसं २०२९ मा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन। अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ। नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ।

बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ। ढलमा खानेपानीका बोतल, प्लास्टिक लगायतका फोहरका डङ्गुरले ढल पूणर्रूपमा बन्द भएका छन्। नगरपालिकाले दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको वडा नं २ का वडाध्यक्ष वरुण दाहालले बताए । – रासस

प्रकाशित मिति : २०७७, ५ चैत्र बिहीबार ००:००  ४ : १७ बजे