काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईसरको संक्रमण खाद्य तथा तरकारीका पसलबाट फैलन नदिने अभियान थालेको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बुनपा १० ले खाद्यन्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्ने अभियान नै सुरु गरेको हो ।
निषेद्याज्ञाको समयलाई ख्याल गर्दै बिहान बेलुकि वडाभित्रका खाद्यन्न तथा तरकारी पसल दिनको २ पटक डिसइन्फेक्सन गर्न थालिएको बुनपा १० का वडाध्यक्ष नवराज भट्टराई बताए । आम सर्वसाधारणलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामाग्री खरिद गर्ने वातावरण बनाउने र कोभिड संक्रमण फैलिन नदिने यो अभियानको उद्देश्य रहेको वडाअध्यक्ष भट्टराईको भनाई छ । कोभिडबाट बच्ने उपाय सहितको स्वास्थ्य मापदण्डका बारेमा डिसइन्फेक्सन अभियानसँगै वडाबासिलाई सुसुचित गर्दै नागरिक सचेतना अभिबृद्धि गर्नेकाम भईरहेको वडाले जनाएको छ ।

बुनपा १० मा यो अभियानको लागि दैनिक ५ वटा स्वयंसेवकहरुको समुह परिचालन गरिएको छ ।
स्वयंसेवक परिचालन कार्य नारायण चोक युबा क्लब र एनएच आरसिएन लगायतको बिभिन्न संघ संस्थाको प्रतिनिधि मार्फत गरिरहेका छन् । अभियानमा सजिलो मिस्त्री नामक संस्था सहयोगी संस्थाको रुपमा छ ।
एकपटक कुनै पनि खाद्यन्न तथा तरकारी पसल डिसइन्फेक्सन गरे पश्चात उक्त स्थान ६ घण्टा सम्म किटाणुमुक्त हुन्छ । बुनपा १० क्षेत्रमा निशेद्याज्ञाको समयमा खाद्यन्न तथा तरकारी पसल बिहान ६ बजे देखि १० बजे सम्म र बेलुकि ५ बजे देखि ७ बजेसम्म दिनमा २ पटक मात्र खुलाउने गरिएको छ ।
जनसंख्याको हिसाबले देशभरिकै नगरपालिकाहरुमा सबै भन्दा ठुलो काठमाडौंको बुढानिलकन्ठ नगरपालिकाको जनघनत्वको हिसाबले सबैभन्दा ठुलो वडा १० नंं वडा हो । साबिक कपन गाविसको वडा न ३ रहेको यो क्षेत्रमा हाल ४४ जना कोभिडका सकृय संक्रमित छन् ।
कोभिड १९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै वडा भित्र १५ बेडको आइशोलेसन कक्ष यसै हप्ताबाट सन्चालनमा ल्याउने तयारी छ ।












