२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुदकाे रकमले भेन्टिलेटर किन्दै सिद्धिचरण नगरपालिका



खेलकुदको शिर्षकमा विनियोजित बजेटबाट ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर खरिद गर्ने भएको छ । नगरकार्यपालिकाको बैठकले मेयर कप सञ्चालनको लागि विनियोजित २० लाख रकमबाट भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षमा खेल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले २० लाख रकम विनियोजन गरेको थियो । अहिलेको समयमा खेलकुदका कार्यक्रम भन्दा पनि कोरोना माहामारीबाट नागरिकको ज्यान बचाउन बढी भूमिका खेल्नुपर्ने भएकाले मेयरकपका लागि छुट्याएको रकमले भेन्टिलेटर खरिद गरिने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए । नगरपालिकाले किन्ने भेन्टिलेटरले ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र आसपासका जिल्लाका नागरिकलाई सेवा पुग्ने नगरप्रमुख श्रेष्ठको भनाई छ । ‘मलाई अहिले भेन्टिलेटर ओखलढुंगामा छ कि छैन भनेर धेरैले फोन गरेर सोध्नुहुन्छ । कोरोनाको संक्रमण फैलिएको अवस्थामा भेन्टिलेटरको जोहो नगरिनहुने अवस्था पनि आईसक्यो ।’ नगरप्रमुख श्रेष्ठले भने, ‘खेलकुदको क्षेत्रमा रहेको २० लाख बजेटलाई रकमान्तर गरेर भेन्टिलेटर किन्नेर ओखलढुंगा र आसपासका नागरिकलाई सेवा दिने हाम्रो उद्देश्य छ ।’ यस क्षेत्रकै बढी बिरामीको चाप हुने ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रुम्जाटार नगरक्षेत्र भित्रै पर्ने भएकाले पनि स्वास्थ्यका उपकरण खरिद गरेर नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने अवस्था रहेको नगरप्रमुख श्रेष्ठको भनाई छ । उनले जिल्लाका अन्य स्थानीय तहसँग भेन्टिलेटर खरिद गर्ने विषयमा समन्वय भइरहेको जानकारी दिए । 

जिल्लामा भेन्टिलेटर सहितको स्वास्थ्य सेवा नभएकै कारण नागरिकहरु लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेर उपचारका लागि राजधानी जान बाध्य छन् ।

जिल्लामा भेन्टिलेटर राखेर सेवा सञ्चालन गर्न सके लाखौं खर्च गरेर महंगा अस्पताल पुग्नुपर्ने जिल्लाबासीको बाध्यता अन्त्य हुने नगरपालिकाले जनाएको छ ।

जिल्लामै अक्सिजन उत्पादन भईरहेको र पिसिआर मेसिन राख्ने समेत सरकारी तयारी भईरहेकाले नगरपालिकाको भेन्टिलेटर खरिद गर्ने योजनाले थप सार्थकता पाएको छ ।

जिल्लामै पर्याप्त अक्सिजन, भेन्टिलेटरलगायतका सुविधा सहितको उपचार पाए कोरोना संक्रमितलाई उपचारमा निकै सहज हुनेछ ।

प्रकाशित मिति : २०७८, ११ जेठ मंगलबार ००:००  ५ : १४ बजे