सुनकोशी नदिमा आएको बाढीले नवलपुरमा निर्माणाधिन मोटेरेबल पुल बगाएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल विहिबार सुनकाशी नदिमा आएको बाढीले बगाएको हो ।
करिब २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल २ सय १० मिटर लम्बाईको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लागेको थियो ।
बुधबार मात्रै ढलान गरेको पुलको ४० मिटरभागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तिव्र बनाईएको थियो । वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्नेगरि काम अघि बढाईएको भएपनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए । उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो । उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन् । ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिन सम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले भने, ‘गुणस्तरीय काम गर्दा गर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याव भत्कियो । निकै ठुलो क्षति भयो ।’ माझीका अनुसार करिब ६ करोड बराबरको क्षति भएको छ । स्थानीय समेत रहेका उनि भन्छन् ‘हेर्दा हेर्दै बाढीले वितन्डा मच्चायाे’
निर्माणाधिन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुलीको फिक्लल गाउँपालिका २ का वडाअध्यक्ष शंकर भण्डारीले बताए । ‘वर्षाको समयमा सुनकोशीको बाढी संधै यस्तै हो क्षति गर्छ । वर्षा लाग्दालाग्दै पनि निर्माण कम्पनीले नदिको मुलबहावमा काम गरिरहेको थियो । हेर्दाहेर्दै बगायो ।’ भण्डारीले भने, ‘दिगो विकास यहाँको आवश्यकता हो । यहि क्षतिलाई देखाएर काम रोक्न वा अन्य बहाना गर्न पाइदैन समयमै काम सक्न हामी ताकेता गर्छौ ।’ ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफुहरुसँग कुनै समन्वय नगरेको र कोभिड नियन्त्रणमा आफुहरु रहेकाले यसविषयमा जानकारी नरहेको बताए ।
सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताए । ढलानमा दिईएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुनसक्ने उनको भनाई छ । ‘हामीले त्यो आयोजना हेर्दैनौं खास किन समस्या भयो त त्यो साइड र डिजाईन हेरेपछि थाहा हुन्छ तर यसरी बाढीले बगाउनुमा ढलानको सपोर्टले लोड थेग्न नसकेको हुनसक्छ ।’ उनले भने । ‘ त्यो पुलको भित्र केवुल राखिएको हुन्छ । पहिलो चरणमा १४ दिन भित्र र दोस्रो चरणमा १ महिनामा केवुल तन्काउनुपर्ने हुन्छ । समग्रमा भन्दा यो एक प्रकारको डिजास्टर नै हो ।’ वर्षाको बेला बाढीको खतरा हुने भएकाले मौषम हेरेर यस्ता काम गर्नुपर्ने उनको तर्क छ ।
असार सम्ममा निर्माण सक्ने जिम्मा लिएको निर्माण कम्पनीले ढिलोमा माघ सम्ममा काम सक्ने जनाएको थियो ।
सुनकोशी नदिकै घुर्मी र हर्कपुर जोड्ने पुल यसअघि हावाले लडाएको थियो ।











