२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिटामिन कोसेली बोकेर संक्रमितका घरघरमा पुग्छन् मोलुङका जनप्रतिनिधि



ओखलढुंगाको मोलुङ गाउँपालिकाका जनप्रतिनिधि रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी कोसेली बोकेर कोरोना संक्रमितको आत्मबल बढाउन संक्रमितका घरघरमा पुग्न थालेका छन् । जनप्रतिनिधिले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर रोगप्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सहितका औषधी वितरण गर्दै आत्मबल बढाउन लागि परेका हुन् ।

गाउँपालिका अध्यक्ष मणिराज राईको नेतृत्वमा अन्य जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी सहित संक्रमितका घरघरमा पुगिरहनुभएको छ । संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्यकर्मी मार्फत आवश्यक परामर्श दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी र भिटामिन वितरण गर्ने गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताए ।

जिल्लामा सबैभन्दा पहिला समुदायस्तरमा कोरोना संक्रमण देखिएको मोलुङ घरघरै जस्तो संक्रमित छन् । गाउँपालिकाको विशेष बैठकले संक्रमित बढी भएको क्षेत्रलाई सिल गरेको छ  । कोरोना नियन्त्रणका लागि नीतिगत निर्णय गरेर व्यवहारिक हिसाबले संक्रमितको मनोबल बढाउन विभिन्न वडामा होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिन युक्त औषधि वितरण गर्दा उनीहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष मणिराज राइको भनाइ छ । ‘संक्रमितलाई समाजले खराब नजरले नहेरोस् र उहाँहरुमा पनि रोगलाई जित्ने आत्मबल बढोस् भन्ने उद्देश्यले हामी घरघरमा पुगेर हौसला दिईरहेका छौं ।’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो संकटको बेलामा स्थानीय सरकारका तर्फबाट गर्न सकिने सबै सहयोग गर्न लागि परेका छौं ।’ अध्यक्ष राईले कोरोना संक्रमणका कारण निधन भएका वृद्धाको परिवारलाई व्यक्तिगत रुपमा पाँच हजार सहयोग गरेका छन् । राईले गत मंगलबार कोरोनाबाट मृत्यु भएकी मोलुङ २ रामपुरकी  ८८ बर्षकी महिलाको परिवारलाई समवेदना स्वरुप उक्त रकम सहयोग गरेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष हेमकुमारी तामाङ, वडाअध्यक्षहरु, स्वास्थ्य शाखा कर्मचारी, स्वास्थ्य चौकी प्रमुख, स्वास्थकर्मी सहितको टोलीले होम आइसोलेसनमा रहेकाहरुलाई भेटिरहेको छ । उक्त टोलीले संक्रमितहरूलाई स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न तथा आत्मवल उच्च राखेर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्ने गरेको छ ।

ओखलढुंगाका सबैजसो स्थानीय तहहरु कोरोना संक्रमण नियन्त्रणमा सकृय भएर लागेका छन् ।

प्रकाशित मिति : २०७८, १५ जेठ शनिबार ००:००  ११ : ५५ बजे