२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा ३४ अर्बको लोकप्रिय बजेट आउँछ, काेराेना संक्रमणले विकास राेकिन्न : मन्त्री गुरुङ



प्रदेश १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भईरहेको बताएका हुन् ।

गृह जिल्ला ओखलढुंगामा भिजनसँग कुरागर्दै गर्दै मन्त्री गुरुङले प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब ३४ अर्बको हाराहारीकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको बताए । चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने र त्यसलाई पूर्ण कार्यान्वय गर्ने सरकारको लक्ष्य रहेको मन्त्री गुरुङको भनाई छ ।

उनले विगतका अधुरा योजना सम्पन्न गर्न, क्रमागत योजनालाई निरन्तरता दिन र थप गौरवका नयाँ आयोजना समेटेर लोकप्रिय बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको बताए । कोरोना संक्रमण रोकथाममा सरकार केन्द्रित हुनुपर्ने भएपनि विकास बजेट नघटाई ल्याउने उनको भनाई छ । ‘महामारीको रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उद्धार र उपचारमा सरकारले बढी ध्यान दिनुपर्ने अवस्था छ । तर कोरोनाको कारणले प्रदेशको भौतिक विकास अवरुद्ध हुँदैन ।’ मन्त्री गुरुङले भने, ‘विगतमा सुरु भएका योजना सम्पन्न गर्ने र बजेट नपुगेर रोकिएका योजना अघि बढाएर प्रदेश सरकारको प्रगति देखाउने बजेट पनि हो यो । गौरवका योजनाहरु अघि बढाउने लक्ष्य पनि छ । समग्रमा भन्दा यो वर्षको बजेट सबै क्षेत्र र वर्गलाई समेटेर आउँछ ।’ मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना धेरै समावेश नहुने भएपनि केही लोकप्रिय कार्यक्रम थपिने र स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई समेटेर बजेट आउने बताए ।

मन्त्री गुरुङले बजेटको मार्गदर्शन र सिलिङ सबै मन्त्रालयलाई उपलब्ध भईसकेको र मन्त्रालयहरुले तय गर्ने बजेटको सिलिङमा कम्तिमा पनि बजेटको ४० प्रतिशत पूर्वधारमा अनिर्वाय गरिएको जानकारी दिए । उनले प्रदेशको आवद्यिक योजना, सरकारको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजस्व परामर्श समितिले दिएको सुझावसमेत समेटेर बजेटको तयारी भइरहेको बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा करिब १६ अर्ब हाराहारीको बजेट सिलिङ छ ।

प्रदेशमा बजेको तयारी भईरहेका बेला कोरोना रोकथामका स्वास्थ्य सामाग्री लिएर जिल्ला आउनुभएका गुरुङ विकास निर्माणका कामको समेत अनुगमन गरिरहेका छन् ।

मन्त्री गुरुङले पहुँचका भरमा झ्यालबाट योजना छिराउने चलनको अन्त्य गरेको दावी गरेका छन् । यसअघि विगतका मन्त्री परिषद्का अर्थमन्त्रीले बजेटमा बेथिति ल्याएकाले कार्यान्वयन गर्न समस्या भएको बताउँदै मन्त्री गुरुङले अबको बजेट पूर्ण कार्यान्वयन हुने बताए । ‘पहुँचका आधारमा भनसुनका आधारमा झ्यालबाट ब्याक डेटमा योजना छिराउने चलन रहेछ । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि त्यो पूर्ण रुपमा प्रतिबन्ध लगाएको छु । अब प्रकृयागत रुपमा आएका याेजनामा मात्रै बजेट जान्छ । ’ उनले भने, ‘अघिल्लो अर्थमन्त्रीले बजेट एकदमै बेतिथि हिसाबले विनियोजन गरेकाले त्यसको कार्यान्वयन निकै चुनौतिपूर्ण बन्यो । अब त्यस्तो बजेट आउँदैन । आएको बजेट तत्काल कार्यान्वयनमा जान्छ ।’ उनका अनुसार प्रदेश सरकार घाटा बजेट विनियोजन नगर्ने निष्कर्षमा पुगेको छ ।

कोरोनाको माहामारीको कारण प्रदेश सरकारले यो बर्ष प्रि–बजेट माथिको छलफल नगर्ने भएको छ ।

असार १ गते सार्वजनिक हुने बजेटमाथि १५ दिन अगावै सदनमा प्रि–बजेटमाथि छलफल गर्ने व्यवस्था रहेको छ । तर कोरोना संक्रमणको जोखिमलाई देखाउँदै प्रदेश सरकारले प्रि–बजेटमाथिको छलफल नगरी बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७८, २२ जेठ शनिबार ००:००  २ : ४१ बजे