काठमाडौं । प्रदेश नम्बर १ सरकारले सप्तकोसी नदीमा रहेको खुवालुङ नामको ढुंगालाई ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गर्ने भएको छ। सरकारले किरात समुदायको ऐतिहासिक र साँस्कृतिक स्थल खुवालुङलाई फुटाउने योजना अघि सारेको भन्दै विरोध भइरहेका बेला प्रदेश सरकारले सो स्थललाई संरक्षण गर्दै ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना अघि सारेको हो।
प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रमको १३५ बुँदामा ‘किराती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ्ग ढुंगाको संरक्षण गर्दै जलयातायात सँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ’ उल्लेख गरिएको छ।
सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने संघीय सरकारको नीति तथा कार्यक्रम विपरित प्रदेश सरकारले भने खुवालुङलाई संरक्षण गर्दै जलयातायात सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको हो। खुवालुङ सुनकोसी, अरुण र तमोरको त्रिवेणी एवं उदयपुर, धनकुटा र भोजपुरको सिमानामा रहेको छ। किराँत भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा भन्ने हुन्छ। नदीको बिचमा रहेको ढुंगालाई किरात (राई, लिम्बू, याक्खा, सुनुवार) समुदायले आस्थाको केन्द्र मान्दैआएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए। प्रदेश सरकारले साथै अरुण तमोर सभ्यताको अध्ययन तथा संरक्षण गर्दै ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याएको छ। खुवालुङलाई हटाउने प्रपञ्च भइरहेको भन्दै असन्तुष्टी पैदा भइरहेको अवस्थामा प्रदेश सरकारको सो नीति तथा कार्यक्रमले किरात समुदायको आक्रोश केही मत्थर पारेको छ।
गत फागुन ८ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेटबोट चलाउनका लागि सप्तकोसीको बिचमा रहेको ढुंगालाई क्रेन लगाएर फुटाउने बताएपछि किरात समुदायबाट विरोध सुरु भएको थियो। प्रधानमन्त्रीको सो भनाइपछि ‘खुवालुङ’ फुटाउन नहुने भन्दै किरात समुदाय, अभियन्ता तथा संस्कृतिकर्मीले ‘खुवालुङ बचाउ आन्दोलन’ नै सुरू गरेका थिए। खुवालुङ बचाउनका लागि कतिपय खुवालुङ स्थल नै पुगेका थिए। -Nagarik












