प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
हिन्दु धर्माबलम्बीले कुशलाई देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने गरेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।
कुशे औँसीलाई बुबाको मुख हेर्ने दिनको रुपमा पनि मनाइन्छ। आज बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ। बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दान गर्छन्।
कुशे औँसीका दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ । विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका रुपमा पनि चिनिन्छ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्नेहरूको भीड लाग्ने गर्छ । तर यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण मन्दिर क्षेत्र बन्द रहेको छ।











