२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा सोमबार थपिए ५ सय ३५ जना कोरोना संक्रमित



काठमाडौं । नेपालमा आज थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जना महिला र ४ सय ६१ जना पुरुष गरी उक्त संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता जागेश्वर गौतमले संक्रमित मध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहेको जानकारी दिए ।

यसैगरी आज थप ३ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखमा उपचाररत २६५, सल्यानबाट ३७ नारायणी अस्पतालबाट ११, धादिङबाट १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसहित नेपालमा हालसम्म २ हजार १ सय ४२ जना संक्रमित सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार देशभरका ७६ जिल्लामा संक्रमण फैलिएको छ । प्रवक्ता गौतमले २२ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ वटा पीसीआर परीक्षण भएको बताए । उनले क्वारेन्टाइनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेको बताए । पछिल्लो २४ घण्टामा भने कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार ००:००  ११ : २० बजे