२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युट्युबको गज्जबको फिचर, अब कमेन्टको भाषा अनुवाद गर्न सकिने



युट्युबमा उपलब्ध कतिपय निकै चर्चित तथा रोचक भिडियोहरुको भाषा नबुझे पनि कहिलेकाहीँ त्यसमा लेखिएका कमेन्टहरुले भिडियोको सन्दर्भ र अन्य जानकारीहरु प्राप्त गर्न सहयोग गर्दछ ।

आफूले बुझ्ने कुनै भाषामा कमेन्ट लेखिएको भए त त्यस्तो सम्भव भयो, तर कमेन्टको भाषा पनि आफूले नबुझ्ने खालको छ भने भिडियो हेर्नुको खासै स्वाद आउँदैन ।

प्रयोगकर्ताको यहीँ गुनासोलाई मध्यनजर गर्दै युट्युबले कमेन्टको भाषा अनुवाद गर्ने निकै उपयोगी फिचर सुरु गरेको छ । युट्युबमा यस विषयमा ट्वीटरमार्फत् जानकारी गराएको छ ।

योसँगै अब युट्युबमा आएका कमेन्टहरु आफूले चाहेको भाषामा अनुवाद गरेर पढ्न पाइनेछ । प्रयोगकर्ताहरुले अब आफूले नजानेको भाषामा युट्युबमा गरिएका कमेन्टहरुलाई आफ्नो भाषामा अनुवाद गरेर पढ्न तथा बुझ्न सम्भव हुनेछ ।

हालका लागि झण्डै एक सय वटा भाषामा युट्युब कमेन्टको अनुवाद सेवा उपलब्ध रहेको छ, जसमा स्पेनिस, पोर्चुगिज, फ्रेन्चलगायतका भाषाहरु रहेको छन् । युट्युबमा मोबाइल एप र वेब भर्सन दुवैमा यो फिचर क्रमिक रुपमा उपलब्ध गराउन सुरु गरेको छ । हालका लागि यो फिचर युट्युबको मोबाइल एपमा उपलब्ध गराइएको छ ।

यो कमेन्टको भाषा अनुवाद गर्ने Translate बटन कमेन्टको ठ्याक्कै तल तथा लाइक, डिसलाइक र रिप्लाई बटनको माथि रहेको छ । उक्त बटनमा थिचेर उल्लेखित कमेन्टलाई आफुले चाहेको उपलब्ध भाषामा अनुवाद गर्न सकिन्छ ।

अंग्रेजी बाहेकका भाषामा गरिएका कमेन्टको तलपट्टि Translate to English भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा ट्याप गरेसँगै उक्त कमेन्ट अंग्रेजीमा अनुवाद हुन्छ । यो फिचर नेपाली भाषामा पनि उपलब्ध रहेको छ ।

ट्रान्सलेट बटनले स्वतः युट्युब भिडियोमा आएका सबै कमेन्टहरुको भाषालाई एकसाथ अनुवाद गर्ने होइन । प्रयोगकर्ताले हरेक कमेन्टका लागि एक एक गरी ट्रान्सलेट गर्नुपर्दछ ।

एजेन्सी

प्रकाशित मिति : २०७८, ३१ भाद्र बिहीबार ००:००  १२ : ०१ बजे