२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमै पीसीआर परीक्षण



तनहुँ। तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो । प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमुनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिए । प्रयोगशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहज रुपमा छिटो, छरितो परीक्षण हुन्छ”, उनले भने ।

यसका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिका आफैँले व्यवस्था गरेको हो । यसका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको रु १२ लाख सहयोग गरेका छन् । नगरपालिकाअन्तर्गत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीले प्रयोगशालाका लागि रु छ लाख सहयोग गरेका छन् । यसका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाको तर्फबाट रु दुई/दुई लाख सहयोग गरिएको थियो ।रासस

प्रकाशित मिति : २०७८, ३ आश्विन आइतबार ००:००  ११ : १३ बजे