२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर बर्षा: बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानको समस्या देखिन थालेका छन् । केहि दिनदेखि लगातार रुपमा परिरहेको पानी आज पनि कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारपनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

यसैगरी राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । तसर्थ महाशाखाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली कञ्चनपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  ३ : ५१ बजे