२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन २१ किलो सुन बरामद



काठमाडौं। विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।

काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । उनले भने–‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लानुभएको छ ।’

यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए । ५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

विमानस्थल भन्सार कार्यालयले नेपाली स्वरूपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।

प्रकाशित मिति : २०७८, १४ मंसिर मंगलबार ००:००  ३ : ५७ बजे