नेकपा एमाले ओखलढुंगाका सल्लाहकार सदस्य प्रेम तामाङ शनिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामो समयमा एमालेमा राजनीतिक रुपमा सकृय तामाङ एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनको एमाले त्याग र कांग्रेस प्रवेशका विषयमा विभिन्न टिप्पणीहरु भईरहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनका समय देखिनै पार्टीभित्र असन्तुष्टि राख्दै आएका उनी आगामी स्थानीय निर्वाचनमा वडाअध्यक्षको टिकट दावी गर्दै कांग्रेस प्रवेश गरेको चर्चा छ ।
नेकपा एमाले मोलुङ गाउँपालिका वडा नं. ६ को वडा कमिटिले भने आईतबार विज्ञप्ती निकालेर एमालेमा अनुशासनको कारबाही सुरु गरेका नेताहरु अन्य पार्टीमा लागेको बताएको छ । वडा कमिटी अध्यक्ष कालसिंङ तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको हित विपरितका गतिविधि गरेका कारण कारबाहीको सिफारीस गरिएका नेताहरु अन्य पार्टीमा लाग्नु स्वभाविक भएको जनाइएको छ ।
२०७८ चैत्र ४ गतेको वडा कमिटीको बैठकले पार्टी हित विपरित क्रियाकलाप गरेको भन्दै वडा कमिटी सचिव सुरेश कट्वाललाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्ने र सल्लाहकार सदस्य प्रेम तामाङलाई कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारीस गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् विज्ञप्ती













