ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट सुनिल खड्का र झनक कार्कीले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष पदमा दुई युवा नेताले आकांक्षा प्रस्तुत गरेका हुन् ।
कार्की र खड्का दुवै सुनकोशीका जनता र पार्टी कार्यकर्ता बीच लोकप्रिय युवा नेता हुन् ।
सुनकोशी ९ का वडाअध्यक्ष कार्की लामो समय संघसंस्था र सामाजिक क्षेत्रमा काम गरेर २०७४ को स्थानीय निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले सुनकोशी गाउँपालिका संसदिय दलका नेता पनि हुन् । भुगोलमा बसेर काम गरेका उनी पार्टीको आन्तरिक चुनावमा लोकप्रिय मत ल्याएर जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
५ वर्ष सुनकोशी गाउँपालिका वडा नम्बर ९ को अध्यक्ष भएर काम गरेको, गाउँपालिकाको शुसासन समितीको संयोजक भएर पालिकाभरी काम गरेको र भुगोलमा बसेर पार्टी संगठन निर्माण र जनताका समस्या समाधानमा योगदान गरेको दावी र समृद्ध सुनकोशी निर्माणको भावी योजना सहित आफुले गाउँपालिका अध्यक्षमा दावी प्रस्तुत गरेको कार्कीले बताए ।
पार्टी जिल्ला कमिटी सदस्य तथा गाउँपालिका ईन्चार्ज सुनिल खड्काले लामो समय देखि चुनावको तयारी गरिरहेका छन् । सामाजिक क्षेत्रमा सकृय खड्का संगठन निर्माण र गरिव, विपन्न परिवारलाई आर्थिक सहयोगमा जोड गरिरहेका छन् ।
सुनकोशी गाउँपालिकामा पार्टीका सबैको साथ र बहुमत मतदाताको मत आफुले पाउने सुनिश्चित गरेर चुनावी मैदानमा होम्मिएको खड्काले बताए ।
खड्का सुनकोशीमा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनितीका साथ मसिनोगरी तयारीमा जुटेका छन् ।
एमाले सुनकोशी गाउँपालिका कमिटीले झनक कार्की, सुनिल खड्का र टंकलाल गिरी सहितको नाम जिल्ला कमिटीमा सिफारीस गरेको छ । कटुञ्जे गाविसका पूर्व अध्यक्ष समेत रहेका एमालेका पुराना नेता गिरी अहिले शिक्षण पेशामा संलग्न छन् । उनले पनि टिकट पाए जागिरबाट राजिनामा दिएर चुनाव लड्ने तयारी गरेको बुझिएको छ ।
यसअघि गाउँपालिका सह ईन्चार्ज हितराज कार्कीले पालिका अध्यक्षमा दावी गरेका भएपनि अहिले उनी वडा नं. ९ को अध्यक्षमा चुनाव लड्ने तयारीमा छन् ।












