मन्थली। रामेछापको मन्थली नगरपालिका ९ का वडाअध्यक्ष बुद्धिबहादुर पुलामी (भरत) फेरि दोस्रो कार्याकालका लागि वडाअध्यक्षको उमेद्वार बनेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित पुलामीले ५ वर्षमा वडालाई भौतिक विकासमा उल्लेख्य प्रगति हुनेगरि काम गरेका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा शानदार वियजी हाँसिल गरेको स्मरण गर्दै ५ वर्षमा आफुले गरेका कामको मुल्याङ्कन गर्दै वडाबासी मतदाताले एकछापे मत दिएर विजयी गराउने पुलामीले बताए ।
५ वर्षमा वडालाई समुन्नत र समृद्धिको लक्ष्यका आधारहरु खडा गरेको बताउँदै उनले अबको ५ वर्षमा थालिएका कामलाई पूणर्ता दिँदै थप रचनात्मक काम गर्ने बताएका छन् ।
चुनाव जितेपछि के के गर्ने भन्ने योजना तय गरेर चुनावी मैदानमा होम्मिएको पुलामीले बताए ।
सडक, भवन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, सिंचाई लगायतका सबै क्षेत्रमा पुलामीले ५ वर्षमा उल्लेख्य काम गरेका छन् । आफुले गरेका जनपक्षीय काम नै आफ्नो यो चुनावको घोषणापत्र हुने उनले बताए । जनतालाई झुटा आश्वासन दिएर भन्दा गरेका काम र बाँकी रहेका योजनाका बारेमा जानकारी गराएर मत लिने उनको योजना छ ।
पूर्वाधार विकासका अलावा सामाजिक क्षेत्रको विकास, जागरण, स्वरोजगार र थानापती क्षेत्र सहितका पर्यटकीय स्थलहरुको पूर्वाधार विकास र प्रचारप्रसारमा पुलामीले विशेष योगदान गरेका छन् ।
रामेछाप जिल्लाको नमुना वडाका रुपमा मन्थली ९ लाई विकास गरेका पुलामीको दावी छ । उनको नेतृत्वमा भएका कामबाट स्थानीय पनि खुसी छन् ।












