ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षका उमेद्वार कमल तामाङले चुनावी ऐजेण्डा सार्वजनिक गरेका छन् । राजधानीमा एक चुनावी कार्यक्रमको आयोजना गरेर तामाङले चुनावी ऐजेण्डा सार्वजनिक गरेका हुन् ।
अध्यक्ष तामाङले आफु सुनकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए सुनकोशीका सबै जनतालाई निशुल्क विद्युत उपलब्ध गराउने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि नमुना विद्यालयलाई हरेक वर्ष पुरस्कार दिने, दुध र मासुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, कुखुरा सहितका पशु र कृषि बीमा गर्ने, उत्पादनको बजारीकरणमा सहयोग गर्ने, आयस्रोत वृद्धि गर्ने र गाउँमै स्वरोजगार हुने वातावरण सिर्जना गरेर विदेशीनु पर्ने युवाको बाध्यता हटाउने बताए ।
अध्यक्षका उमेद्वार तामाङले सुनकोशीका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर गाउँलाई पर्यटकीय गन्तव्य बनाउने उद्घोष गरेको नेविसंघ जिल्ला सचिव योगेश तामाङले जानकारी दिए । ककनी खोला, तीनछाँगेको प्रवद्र्धन देखि डाँडामा भ्यु टावर बनाउने बताएका तामाङले सम्भाव्यता अध्ययान गरेर गाउँमै केबलकार सञ्चालन गर्ने समेत योजना बताए ।
आफुले जनपक्षीय र पारदर्शी सत्ता चलाउने बताए ।
कमल तामाङ गाउँपालिका अध्यक्षमा नहुँदै त यस्तो छ भएपछि कस्तो हुन्छ ? भन्ने धेरैको जिज्ञासा रहेको भन्दै उनले आफ्नो बाल्यकालदेखिकै स्वभाव कडा भएको बताए । छुच्चोपन आफुमा भएको स्विकार गर्दै उनले नम्र भएर चाप्लुसी गर्न नजान्ने बताए । आफ्नो स्वभाव परिवर्तन नहुने तर अन्यायका विरुद्ध त्यो स्वभाव प्रयोग हुने बताए ।
मन्तव्यका क्रममा उनले सुनकोशी कांग्रेसमय भएको भन्दै एमालेको चर्को आलोचना गरेका थिए ।












