काठमाडाै । ओखलढुंगामा यसअघि नेपाली कांग्रेसले जितेका स्थानीय तहमा यसपटक नेकपा एमालेको चुनावी माहोल बढेको छ । २०७४ सालमा नेपाली कांग्रेसले तिजेका जिल्लाका ४ वटै स्थानीय तहमा एमालेका हेविवेट उम्मेदवारले यसपटक कांग्रेसलाई शाख जोगाउन संकट पारेका छन् ।
खिजीदेम्बा गाउँपालिकामा एमालेबाट अध्यक्षमा रामबहादुर खत्री उम्मेदवार छन् । विगत लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेका र एमाले प्रवेशपछि पनि उत्तिकै संगठन निर्माण गरेर खत्रीले कांग्रेसका उम्मेदवारको भन्दा राम्रो चुनावी माहोल बनाएका छन् । खिजीदेम्बामा अन्य पार्टीको तुलनामा यसवर्ष एमालेमा जनलहर देखिएको एमाले जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेले बताए । विगतमा नेपाली कांग्रेसले जितेका जिल्लाका सबै स्थानीय तहमा समेत एमालेको लहर देखिएकाले जिल्लाका सबै स्थानीय तहमा एमालेले बहुमत ल्याउने अवस्था रहेको उनले बताए ।
मानेभञ्ज्याङमा एमालेका रुपलाल तामाङ अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । जसपासँगको तालमेल गरेका तामाङ यसपटक स्वतन्त्र उम्मेदवारको सामना गर्दैछन् । नेपाली कांग्रेसले पार्टीको आधिकारीक उम्मेदवारका रुपमा ज्ञानेन्द्र रुम्दालीलाई समर्थन गरेको छ । रुम्दाली स्वतन्त्र उम्मेदवार हुन् ।
सुनकोशीमा युवा नेता सुनिल खड्का चुनावी मैदानमा छन् । समाजसेवा र राजनीतिमा सुनकोशीमा लोकप्रिय सुनिल खड्का सुनकोशीमा चुनाव जित्ने दावी गर्छन् ।
चम्पादेवीमा पुराना कम्युनिष्ट नेता खड्ग कार्की एमालेबाट अध्यक्षका उम्मेदवार छन् । कांग्रेसको ५ वर्षे शासनबाट आजित जनताले आफुलाई मतदान गरेर जिताउने उनी बताउँछन् ।
विगतको भन्दा पार्टीको पक्षमा जनलहर जिल्लाभर बढेको एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । रुम्जाटारमा आयोजित चुनावी सभामा बोल्दै सुनुवारले जिल्लाका सबै स्थानीय तह एमालेले जित्ने सन्देश प्राप्त भएको बताए ।












