ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरु एमालेमा प्रवेश गरेकाछन् । तरुणदल प्रदेश समितिका सदस्य सुरज राई (टाइगर बोस) को नेतृत्वमा दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
शुक्रबार एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवम् ओखलढुंगा निर्वाचन क्षेत्र (क) का इन्चार्ज अम्बिरबाबु गुरुङले पार्टीमा स्वागत गरेका छन् । प्रवेश गर्ने सबैजसो तरुणदलका पदाधिकारी युवाहरु सिद्धिचरण नगरपालिका भित्रैका हुन् ।

तरुणदलका नेताहरु एमाले प्रवेशले नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार तेजेन्द्र खनाललाई झड्का लागेको छ । खनालकै वडा सिद्धिचरण नगरपालिका वडानम्बर ३ का सुरज राई, राजमोहन राई, राजकुमार राई, डम्बर खत्री, छत्रबहादुर राई, कुमार राई, अर्जुन रोक्का, साजन थापा, सविन भुजेल, नैनबहादुर भुजेल, खड्गबहादुर कट्वाल, फणिन्द्र बस्नेतसहितका तरुणदलका नेता र जसपाका वडा कमिटी उपाध्यक्ष प्रकाश खत्रीसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसले जनभावना अनुरुप काम गर्न नसकेको र पार्टीमा व्यक्ति हावि भएका कारण कांग्रेस परित्याग गरेको तरुणदल छाडेर एमाले प्रवेश गर्ने युवा नेताहरुले बताए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता अम्बिरबाबु गुरुङले क्षमता अनुसार पार्टीमा नवप्रवेशीलाई जिम्मेवारी दिइने बताए ।
एमालेबाट नगरप्रमुख पदका उम्मेदवार इच्छाकुमारी गुरुङले नगरक्षेत्रका युवालाई रोजगारीको ग्यारेन्टी गर्ने बताइन् । सबै वडामा उद्यमशिलताका कार्यक्रम सञ्चालन गरेर युवा स्वरोजगारको अभियान नै सञ्चालन गर्ने उनको भनाई थियो ।












