ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । स्थानिय तह निर्वाचन लक्षित गरेर आगामी ५ बर्षमा एमालेले जिल्लामा गर्ने कामको प्रतिवद्धता सहितको चुनावी घोषणा जिल्ला कमिटीले सार्वजनिक गरेको हो ।
शनिबार एक कार्यक्रमका बिच पार्टी कार्यालयमा जिल्ला कमिटी अध्यक्ष शंकर कटवाल र जिल्ला कमिटी सचिवालय सदस्य तथा कार्यालय सचिव राजिव कटवालले घोषणपत्र सार्वजनिक गरेका हुन् ।
के(के छन् ओखलढुंगा एमालेको घोषणापत्रमा रु
एमाले ओखलढुंगाले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । घोषणापत्रमा शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र व्यवहारीक बनाउने उल्लेख गरेको छ ।
विद्यालय उमेरका बालबालिका, बौद्धिक तथा शारीरिक अपाङगता भएका बालबालिकालाई विशेष विद्यालय स्थापना गर्ने, पुर्ण साक्षर घोषणालाई व्यवहारीक बनाउने, प्रौढ तथा अभिभावक शिक्षा प्रत्येक वडामा सञ्चालन गर्ने जस्ता कुरा घोषणापत्रमा लेखिएको छ ।
यस्तै स्वास्थ्यको विषयलाई ओखलढुंगा एमालेले महत्व दिएको छ । स्वच्छ ओखलढुंगा, निरोगी ओखलढुंगे नागरिकको परिकल्पना गरेको एमालेले ६० बर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ बिमा, जटिल प्रकृतिका रोगको निःशुल्क उपचार, मातृशिशु मृत्युदर कम गर्न विशेष खालका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
निर्माणाधिन अस्पतालको निर्माण कार्य सम्पन्न गर्ने र स्वास्थ सेवा सुचारु गर्ने बताइएको छ । खानेपानी र सरसफाई तथा उर्जाको विषयलाई पनि एमालेले प्राथमिकतामा राखेको छ । खानेपानीको अभाव भएका ठाउँमा एक घर एक घारा कार्यक्रम सञ्चालन गर्ने, विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
युवा उद्यमशिलता, रोजगारी, कृषि, मौलिक कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन गर्ने लगायत समृद्ध ओखलढुंगा बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
सबै पालिकाका कार्यालयहरु अपांगमैत्री बनाउने, महिला, बालबालिका र वृद्धवृद्धाको हकमा पनि विभिन्न महात्वकांक्षी योजना समेटिएका छन् घोषणा पत्रमा एमालेले निर्वाचित हुने जनप्रतिनिधीले शासक नभई जनताको सेवक भएर काम संकल्प गरेको छ ।
जिल्लामा एमालेबाट निर्वाचित हुने जनप्रतिनिधीहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने, नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमुना बनाउने, एमाले नेतृत्वको पालिका तथा वडामा भ्रष्टचारविहिन स्थानीय तह बनाउने समेत रहेको छ । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उदाहरणीय काम गरेको ओखलढुंगा एमालेको दाबी छ ।
आगामी दिनमा समृद्ध, सुखी, खुशी र सुविधासम्पन ओखलढुंगा निर्माणका लागि एमालेको जित आवस्यक रहेको नेकपा एमाले जिल्ला कमिटी सचिव कमल प्रसाद न्यौपानेले बताए । घोषणापत्रमा गरिएका प्रतिवद्धता पुरा गर्ने अठोट सहित एमालेका उम्मेद्धारलाई जिताउन ओखलढुंगा एमालेले अपिल गरेको छ ।












