चम्पादेवी तथा भष्मासुर पहाडमा रहेका जङ्गल अगाडि छ कीर्तिपुर सहर । सहरमाथिका यी पहाड पानीका लागि प्राकृतिक श्रोत हुन् । तर कीर्तिपुरवासीले पानीको दुःख झेलिरहेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेताहरू घर घरमा भोट माग्न आए पनि उनीहरुले पानीको तिर्खा मेट्ने वाचा नगरेको स्थानीयको गुनासो छ ।
कीर्तिपुर लायकुकी बासिन्दा विमला प्रधानले खानेपानीको दुःख रहेको सुनाइन् । भोट माग्न नमस्कार गर्दै आउने तर कुनै काम नगर्ने भएकोले यो पटक आफूलाई कुनै दललाई पनि भोट दिन मन नलागेको उनले सुनाइन् । प्रधानले रातोपाटीसँग भनिन्–‘यहाँ पानीको समस्या छ । कहिलेकाहीँ त ड्रममा भरेर राख्न पुग्ने पानी पनि आउँदैन । एकदिन आउँछ त्यसपछि बन्द भइहाल्छ ।’
अचेल भोट माग्न आउनेहरूले पनि यो काम गर्छु त्यो काम गर्छु भन्ने नगरेको । नमस्कार गर्दै भोट आउने गरेको उनले बताइन् । उनले भनिन्–‘नेताहरूलाई पानी ल्याइदिनुपर्यो भनेको पनि हो । पानी नै छैन भन्छन् । उनीहरूलाई भोट दिए जिताउनु मात्र हो । यसपालि छ भोट हाल्न पनि मन छैन ।’
कीर्तिपुर नयाँ बजारमा कपडा सिलाइको पसल सञ्चालन गरिरहेका दिपु परियार र शान्ति परियारले पनि पानीको दुःख रहेको र फोहोर मैला व्यवस्थापनमा समस्या रहेको सुनाए । दिपु परियारले भने–‘कतै पानी आउँछ कतै आँउदैन । यहाँको मुख्य समस्या भनेको पानी र फोहोर मैला व्यवस्थापनको हो । त्यो समस्या पूरा गर्ने जनप्रतिनिधि आए राम्रो हुन्थ्यो ।’
हरेक चिजको भाउ बढी रहेकोले मानिसलाई काम नभएकोले रोजगारीको व्यवस्था गर्नुपर्ने शान्ति परियारले बताइन् । उनले भनिन्–‘काम गर्न चाहनेलाई नगरपालिकाले कामको व्यवस्था गर्नुपर्यो । महिलाका लागि तालिमको व्यवस्था गरे हुन्थ्यो ।’
उनले महिलासम्बन्धी तालिम तथा आय आर्जनका कार्यक्रममा नगरपालिकाले नबोलाउने गरेको उनले बताइन् । जनतालाई रोजगारीको व्यवस्था गर्न, सुविधाहरू दिने तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
कीर्तिपुर वडा नम्बर १ देपुखुःमा भेटिएका नारायण महर्जनले पनि पानीको समस्या रहेको बताए । उनले भने–‘यहाँ पानीको एकदम समस्या छ । पानीको स्रोत छ तर सबैलाई पुगेको छैन । बाटोमा धुलै धुलो छ । आज सडक पिच गर्छ भोलि भत्काउँछ जनतालाई सुविधा छैन ।’
यस्तै स्थानीय कबीर श्रेष्ठले पनि कीर्तिपुरवासीको मुख्य समस्या पानीको रहेको र विगतदेखि नै पानीको माग गरिरहेको बताए । पहिलेका स्थानीय जनप्रतिनिधिले पानीको समस्या समाधान गर्न नसकेको र ढल निकासको समस्या रहेको पनि उनको भनाई छ । कृष्णबहादुर महर्जनले नेताहरूले विकासमा राम्रो काम गरे हुन्थ्यो भने अपेक्षा गरे ।
कीर्तिपुर बजारमा पानीको अभाव रहेको दृश्य त्यहाँको बाटोमा पनि देखिन्थ्यो । महिलाहरू टाढाबाट पिठ्युँमा पानी बोकेर हिँडिरहेका थिए । कीर्तिपुर बासीले पानीको समस्या समाधान गर्नका लागि अब निर्वाचित हुने जनप्रतिनिधिसँग माग गरेका छन् ।
यस्ता छ स्थानीय चुनावका लागि कीर्तिपुरका उम्मेदवार
कीर्तिपुर नगरपालिकामा प्रमुखमा एमालेका तर्फबाट केश रत्न बज्राचार्य, उपमेयरमा विन्दु महर्जन उम्मेदवार हरेका छन् । काँग्रेसबाट प्रमुखका लागि राजकुमार नकर्मी, उपप्रमुखका लागि जनता समाजवादीबाट सुनिता शाक्य उम्मेदवार रहेकी छिन् । उनले रुख चिन्हबाटै चुनाव लड्ने भएकी छिन् ।
यस्तै माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक डा।शिर शरण महर्जनलाई प्रमुख पदका लागि उम्मेदवार बनाएको छ भने उपप्रमुखमा सुशीला बस्नेतलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले वटुकृष्ण थापालाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपमेयरमा कमला महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई प्रमुखको उम्मेदवार बनाएको छ भने सर्जु महर्जनलाई उपमेयरको उम्मेदवार बनाएको छ । राप्रपाले जित बहादुर विष्टलाई प्रमुख र सम्झना पौडेललाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी बनेको थियो । प्रमुखमा रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा सरस्वती रिजालले ६ हजार ८१० मत ल्याएकी थिइन् ।











